
काठमाडौं, १ असार । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका र बेलायत पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१६ बस्ने नुवाकोट विदुर नगरपालिका–४ का ५१ वर्षीय राजकुमार मानन्धर र काठमाडौं महानगरपालिका–१४ बस्ने रूपन्देही तिलोत्तमा नगरपालिका–२ का ४० वर्षीय ओमबहादुर खत्री रहेका छन् । पक्राउमध्ये राज कुमारले अमेरिका पठाइदिन्छु भन्दै तीन जनाबाट ३५ लाख ६९ हजार रुपैयाँ र ओमबहादुरले बेलायत पठाइदिन्छु भन्दै एक जनाबाट ६ लाख ७५ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए ।
पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले राजकुमारलाई काठमाडौं महानगरपालिका–१६ बाट र ओमबहादुरलाई काठमाडौं महानगरपालिका–१२ बाट पक्राउ गरेको हो ।
पक्राउमध्ये राजकुमारलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं र ओमबहादुरलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
त्यसैगरी, ठगीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका–१० बस्ने कञ्चनपुर भीमदत्त नगरपालिका–१४ का २३ वर्षीय खगेन्द्र विष्टलाई प्रहरीले पक्राउ गरेको छ । मुद्दामा फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले काठमाडौं महानगरपलिका–१० मध्यबानेश्वरबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पठाइएको छ ।
काठमाडौं महानगरपालिका–१४ कुलेश्वरस्थित फलफूल मण्डि नजिकैबाट नियन्त्रित लागुऔषध ट्रामाडोल ७३ हजार नौ सय ट्याब्लेटसहित काठमाडौं महानरपालिका–१४ बल्खु बस्ने नुवाकोट पञ्चकन्या गाउँपालिका–२ का २६ वर्षीय राजु मिजारलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले सोही ठाउँस्थित खाली जग्गामा रोकिराखेको युपी ७८ सिबी ९८३५ नम्बरको कार खानतलासी गर्दा कारको ढोकाको भागमा फल्स बटम बनाई लुकाइछिपाई राखिएको र डिकीमा रहेको अक्सिजन सिलिण्डरभित्र लुकाइछिपाई राखिएको लागुऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।








प्रतिक्रिया