२८ जेष्ठ २०८३, बिहिबार

विप्रेषण आप्रवाह १३.२ प्रतिशतले वृद्धि

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ जेठ । वैदेशिक रोजगारीबाट भित्रिने विप्रेषण (रेमिट्यान्स)को मात्रा १३.२ प्रतिशतले वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबार प्रकाशन गरेको चालु आर्थिक वर्ष (आव) २०८१/८२ को १० महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार विप्रषणमा वृद्धि भएको देखिएको हो ।

राष्ट्र बैंकको प्रतिवेदन अनुसार चालु आवको १० महिनामा विप्रेषण आप्रवाह १३.२ प्रतिशतले वृद्धि भएर १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.९ प्रतिशतले बढेको थियो ।

चालु आवको वैशाखमा ६५ अर्ब ३० करोड विप्रेषणबाट भित्रिएको छ । अघिल्लो वर्षको वैशाखमा विप्रेषण आप्रवाह १ खर्ब १५ अर्ब ९९ करोड रुपैयाँ रहेको थियो । विप्रेषणबाट गत वर्षको तुलनामा यस वर्ष करिब ५० अर्ब रुपैयाँ बढी रकम नेपाल भित्रिएको छ ।

यसैगरी, समीक्षा अवधिमा (चालु आवको साउन देखि वैशाखसम्म) अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.५ प्रतिशतले बढेर ९ अर्ब ९६ करोड अमेरिकी डलर पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.८ प्रतिशतले बढेको थियो ।

गत वर्षको तुलनामा वैदेशिक रोजगारीमा जानेको संख्या यस वर्ष ७६ हजारभन्दा बढीले वृद्धि भएको छ । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि ४ लाख ५ हजार ६१० जना नेपालीले अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिएका छन् ।

यसैगरी, २ लाख ८० हजार ३१४ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३ लाख ७३ हजार ३०७ जनाले अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिएका थिए भने २ लाख ३६ हजार ३९८ जनाले पुनः श्रम स्वीकृति लिएका थिए ।