५ असार २०८३, शुक्रबार

एमाले मकवानपुरको सल्लाहकार कमिटी अध्यक्ष हुमागाईंको निधन

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, २७ जेठ । नेकपा (एमाले) मकवानपुरको सल्लाहकार कमिटीका अध्यक्ष बलराम हुमागाईंको निधन भएको छ ।

मकवानपुरमा कम्युनिष्टको जग बसाल्ने नेतृत्वमध्येका एक हुमागाईंको सोमबार साँझ निधन भएको हो । रोगले थलिएका उनलाई भारतमा उपचार पश्चात केही समय अघि मात्रै मकवानपुर ल्याइएको एमाले मकवानपुरका सचिवालय सदस्य तथा मकवानपुरगढी इञ्चार्ज बिदुर हुमागाईंले जानकारी दिए ।

पञ्चायतकालीन समयमा कम्युनिष्ट आन्दोलनको अग्रमोर्चामा रहेका हुमागाईंलाई जिल्लामा सम्मानित कम्युनिष्ट नेताका रुपमा लिइने गरिन्थ्यो । उनी एमाले मकवानपुरको दोस्रो कार्यकालका लागि पनि सल्लाहकार कमिटी अध्यक्ष भएका थिए ।

हुमागाईंले मकवानपुरगढी गाउँपालिका (तत्कालीन गढी गाविस)मा एमालेको जग बसालेका थिए । पार्टीले मकवानपुरगढीमा पहिलो पटक सम्पर्क गरेको नेता पनि हुमागाईं थिए । उनकै नेतृत्वमा गढीमा एमाले विस्तार भएको थियो ।

हुमागाईंको परिचय कम्युनिष्ट आदर्श नेताको रुपमा मात्र सीमित छैन । उनले जीवनको उर्जाशील समय दुग्ध उत्पादक कृषकहरुको हकहितमा बिताए ।

हुमागाईंले लामो समय जिल्लाकै उत्कृष्ट र ठूलो मनकामना दुग्ध उत्पादक सहकारी संस्थाको व्यवस्थापकीय जिम्मेवारी सम्हालेर बिदा लिएका थिए । मनकामनालाई जिल्लामै नमूना दुग्ध उत्पादक सहकारी बनाउन हुमागाईंको नेतृत्वदायी भूमिका थियो ।