
काठमाडौं, २६ जेठ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले अराजकता र अवसरवाद विरुद्ध दृढ सङ्घर्ष गर्नुपर्ने बताएका छन् ।
राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपाल र मातहतका केन्द्रीय निकाय, घटक संघ तथा प्रदेशका नवनिर्वाचित पदाधिकारी एवं सदस्यहरूलाई पार्टी केन्द्रीय कार्यालयमा सोमबार आयोजित बधाई तथा शुभकामना कार्यक्रममा सम्बोधन गर्दै महासचिव पोखरेलले पार्टी भित्र सांगठनिक अराजकता र व्यक्तिवादी अवसरवाद मौलाएको बताएका हुन् । ‘हाम्रो भित्रै हुर्किरहेको अराजकता र अवसरवादलाई जित्नु नै आजको प्रमुख चुनौती हो’, पोखरेलले भने ।

एमाले समाजवादको लक्ष्य बोकेर हिँडेको पार्टी भएको बताउँदै महासचिव पोखरेलले समाजवादसम्म पुग्न स्पष्ट विचार, दृष्टिकोण र सांगठनिक एकता आवश्यक रहेको स्पष्ट पारे । उनले समाजवादलाई गरिबी र दरिद्रता होइन, ‘मानिसको सक्षम, सुखी र समृद्ध जीवन’को मार्गका रूपमा व्याख्या गरे । समाजवादलाई बुझ्न नसक्दा दरिद्रता र गरिबीलाई बाँड्ने कुरा समाजवाद भनेर भ्रम फैलिएको बताउँदै उहाँले समाजवाद भनेकै समृद्धि र सुख भएको स्पष्ट पारेका हुन् ।
समृद्ध नेपाल, सुखी नेपालीले समाजवादका आधार तयार पार्ने उनको भनाइ छ । पोखरेलले हाल नेपाली समाज निर्वाहमूलक अर्थतन्त्रमा रहेको भन्दै नेपाली अहिले पूर्ण पुँजीवादको अवस्थामा समेत नपुगेको धारणा राख्दै अहिले पनि नेपाली समाजमा निर्वाहमुखी पछौटे सोच रहेको बताएका हुन् । ‘यस्तो पछौटे सोचले मुलुकको विकास हुँदैन,सोच परिवर्तन गर्नै पर्छ’, उनले भने ।
उनले एमालेमाथि राजावादी, आफूलाई कम्युनिष्ट भनेर कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउने, अराजकतावादी र विदेशी शक्तिहरूले आक्रमण गरिरहेका उल्लेख गर्दै उनीहरूले आक्रमण गर्नु स्वाभाविक भएको बताउँदै त्यसबाट डराउनु नपर्ने स्पष्ट पारे । त्यसको प्रतिवाद किन भइरहेको छैन भन्ने कुरा भने चिन्ताको विषय भएको पोखरेलको भनाइ छ । ती आक्रमण प्रतिवाद गर्ने कुरामा पार्टीका कार्यकर्ता कमजोर देखिएका उनले बताएका हुन् । ‘यी चारवटा चुनौतीसँग एकैसाथ लड्नुपरेको छ, एमाले बलियो नहुँदासम्म हाम्रो भविष्य सुरक्षित हुँदैन’, उनले भने ।
लोकतन्त्रको उपलब्धिलाई स्वीकार गर्न नसक्नेले देशमा केही भएको छैन भन्ने भ्रामक प्रचार गरिरहेका बताउँदै अहिलेका सबे योगदान लोकतन्त्रको उपलब्धि भएको दाबी गरे । तथापि राजनीतिक अस्थिरताको कारण गर्नुपर्ने धेरै काम गर्न नसकिएको उनले स्वीकारे ।
‘राजनीतिक अस्थिरताले हामीले सबै अवसर सदुपयोग गर्न सकेका छैनौँ, अब बलियो राष्ट्रिय शक्ति, बलिया राजनीतिक दल र स्थिरता आवश्यक छ,त्यसकै लागि एमालेले मिसन २०८४ तय गरेको हो’, उनले भने ।










प्रतिक्रिया