
काठमाडौं,२४ जेठ । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले विरुद्ध डरलाग्दो हमला भइरहेको बताएका छन् ।
एमाले ओखलढुङ्गाको लिखु–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै पोखरेलले नेपाललाई कमजोर बनाउन चाहने शक्तिले एमालेमाथि हमला गरिरहेको बताए । ‘राष्ट्रियताको पक्षमा दृढतापूर्वक बोल्ने पार्टी कोही छ भने त्यो एमाले हो’, वरिष्ठ उपाध्यक्ष पोखरेलले भने ।
उनले पार्टी अध्यक्ष केपी ओलीको अभिव्यक्तिको कारणले एमालेविरुद्ध प्रहार नभएको बताए । ‘कोही कोहीले साथीहरूले भनिदिनु हुन्छ ओलीजीले यताउता बोल्दिनुहुन्छ, त्यसैले विरोधी बढे भन्छन्, अनि हाम्रा कतिपय भलाद्मी साथीहरूलाई हो जस्तो लाग्छ, उहाँले त्यस्तो बोलेको, कटाक्ष गरेको, बिम्ब लगाएर बोलेको कारणले, उहाँले प्रतिकमा बोलेको कारणले त्यस्तो भएको हो ?’, उनले प्रश्न गरे ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले एमाले राष्ट्रियताको पक्षमा दृढ अडानका साथ उभिने पार्टी भएको बताए । त्यसैले एमालेमाथि आक्रमण भइरहेको उनको भनाइ छ । ‘एमाले राष्ट्रियताको पक्षमा दृढतापूर्वक उभिने पार्टी हो, जुन शक्तिका मतियारहरूले नेपाललाई कमजोर बनाउन चाहन्छन्, तिनीहरूले एमालेमाथि हमला गर्दै छन्’, उनले भने ।
राष्ट्रिय हितको पक्षमा छिमेकीसँग आँखा जुधाएर कुरा गर्नुपर्ने उनको स्पष्ट धारणा छ । ‘छिमेकीसँग मुख चलाउन पनि हुँदैन, घुँडा टेक्न त हुँदै हुँदैन, आफ्नो राष्ट्रिय हितमा छिमेकीसँग आँखामा आँखा जुधाएर कुरा गर्नुपर्छ’, उनले भने ।
१(५) को सन्धि समयानुकूले पुनरावलोकन गर्ने पहिलो नेपालको प्रधानमन्त्री मनमोहन अधिकारी भएको उनले सुनाए । अधिकारी बाहेक कुनै पनि राजा वा प्रधानमन्त्रीले त्यस अघि सो सन्धि पुनरावलोकन गर्न नसकेको उनले बताए । असमान सन्धिका भारी बोकेर हिँड्दा पनि त्यसविरुद्ध एमाले बाहेक कसैले आवाज उठाउन नसकेका उनले स्पष्ट पारे । मनमोहनकै लाइनबाट भारतसँगको सम्बन्ध पुनरावलोकन गर्नुपर्छ भन्ने नेता केपी ओली भएको पोखरेलले बताए ।
आर्थिक विकास र समृद्धिका एजेण्डा बोकेर अघि बढेको पार्टी एमाले भएको बताउँदै नेपालमा आत्मनिर्भर भएर अघि बढेको देख्न नसक्ने शक्तिहरू एमाले विरुद्ध लागेका उनले सुनाए । लोकतन्त्र र गणतन्त्रको पक्षमा रहेको शक्तिलाई कमजोर बनाउने नियतले पनि एमाले माथि आक्रमण भएको पोखरेलले बताए । कुनै एउटा जातिको बहुमत नभएको देश नेपालमा सामाजिक सद्भाव भड्काउन चाहनेहरू एमाले माथि आक्रामक बनेका पोखरेलले बताए ।
एमाले जन्मसिद्ध अधिकारको आधारमा शासन चलाउने कुराको विरुद्धमा उभिने बताए । वंश परम्परामा आधारित शासन सत्तालाई एमालले नमान्ने भन्दै योग्यताको आधारमा लोकतान्त्रिक विधिबाट आउनेले शासन चलाउने उनले स्पष्ट पारे ।
त्यस्तै, एमाले अनिर्वाचित शासन सत्ताको पक्षमा पनि नरहेको पोखरेलले बताए । यही अडानको आधारमा एमाले राजाको विरुद्धमा रहेको उनले स्पष्ट पारे ।








प्रतिक्रिया