१६ असार २०८३, मंगलबार

मिसन ८४ केन्द्रित भएर काम गर्न चितवनका नेता कार्यकर्तालाई महासचिव पोखरेलको निर्देशन

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २४ जेठ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले चितवनमा एमालेले व्यहोरेको हारको समीक्षा गर्दै मिसन ८४ केन्द्रित सांगठनिक गतिविधिमा लाग्न यहाँका नेता कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

शनिबार एमाले चितवन ११औं जिल्ला अधिवेशनको प्रथम प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले मिसन ८४ केन्द्रित सांगठनिक गतिविधिमा लाग्न निर्देशन दिएका हुन् ।

पार्टी नेतृत्वलाई सही सुझाव र सल्लाह दिन महासचिव पोखरेलले प्रतिनिधि परिषद्का सदस्यहरुलाई आग्रह गरे । पार्टी र नेतृत्वप्रति घेराबन्दी भइरहेको बताउँदै उनले एकताबद्ध भएर त्यसको प्रतिवादमा लाग्नुपर्ने बताए ।

महासचिव पोखरेलले पार्टी लोकप्रिय भएका कारणले सबैको तारो एमालेलाई बनाइएको बताए । वामपन्थी जनमत एमालेमा भएको कारण एमालेमाथि आक्रमण भइरहेको महासचिव पोखरेलले बताए । जातीय राज्य बनाउन खोज्ने र एक मधेश एक प्रदेश बनाउन खोज्नेहरुले एमालेमाथि आक्रमण गरिहेको महासचिव पोखरेलले बताए ।

नेता कार्यकर्ताले पार्टी जहाँ कमजोर छ त्यहीँबाट संगठन सुरु गर्नुपर्ने र जो नेताले कमजोरी गरे तिनै नेताबाट सुधार्नु र सुध्रनु जरुरी रहेको महासचिव पोखरेलको भनाइ छ । सामाजिक सञ्जालमा आएका फेक कुराहरु हेरेर धारणा बनाउने प्रवृत्तिले समाज बिग्रिरहेको उनले बताए ।

बजेटका बारेमा बोल्दै महासचिव पोखरेलले बजेट लोकप्रियभन्दा पनि नेपालको अर्थतन्त्र सुधार गर्नमा केन्द्रित रहेको बताए । उनले देशमा विकासको मूल फुटाउने पार्टी एमाले भएको बताए ।

बैठकमा एमाले चितवनका अध्यक्ष कमलराज पाठकले राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने एमाले चितवनका लेखा कमिटी अध्यक्ष शंकर अधिकारीले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।