
विराटनगर, २३ जेठ । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राज्यका हरेक निकाय बलियो हुनुपर्ने बताएका छन् ।
राष्ट्रिय समाचार समिति कोशी प्रदेश कार्यालय विराटनगरको निरीक्षण एवं अवलोकनपछि उनले भौतिक संरचनामा निकै सुधार भएकोमा खुसी व्यक्त गरेका हुन् । रासस एक जवाफदेही सञ्चार माध्यम भएकाले यसले प्रवाह गर्ने सेवा छिटोछरितो हुनुपर्ने र रासस बलियो भएमा अन्य सञ्चार माध्यम पनि बलियो हुने विश्वास व्यक्त गरे ।
उनले भने, “समाचारका मुहानको रुपमा रहेको राससले अझ मेहनत गर्नुपर्छ ।” समावेशी चरित्र बोकेको राससले आफूलाई अझ प्रभावकारी बनाउनुपर्ने निर्देशन दिँदै विश्वसनीय स्रोतको उपयोगले समाचारको महत्व बढ्ने बताए।
राससका महाप्रबन्धक सिद्धराज राईले राससको भौतिक सम्पत्तिलाई व्यावसायिकीकरण गर्न सकेमा आत्मनिर्भर बन्ने र सरकारलाई आर्थिक भार कम हुने धारणा राखेका छन् । उनले राससको विराटनगर, काँकरभिट्टा, वीरगञ्ज, पोखरा जस्ता महत्त्वपूर्ण स्थानमा रहेका भौतिक सम्पत्तिको पूर्णरुपमा सदुपयोग गर्न बजेटको आवश्यकता औँल्याए ।
रासस कोशी प्रदेश कार्यालय विराटनगरका प्रमुख मोहम्मद सदरुलले समाचार र कार्यालयको विविध पक्षमा जानकारी गराएका थिए । अवलोकनका क्रममा सूचना तथा सञ्चार प्रविधि सचिव राधिका अर्याल, मन्त्रालयका सहसचिव कोषहरि निरौला, कोशी प्रदेशका मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइँटेललगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।














प्रतिक्रिया