३० जेष्ठ २०८३, शनिबार

पत्रकारमाथि दुर्व्यवहार गरेको घटनाप्रति अनलाइन टिभी पत्रकार संघको आपत्ति

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ जेठ । वरिष्ठ अधिवक्ता शम्भु थापाले बिहीबार पत्रकारमाथि हातपात गरेको घटनाप्रति अनलाइन टिभी पत्रकार संघले आपत्ति जनाएको छ ।

नेकपा (एकीकृत समाजवादी)को पार्टी कार्यालय परिसरमा नेपाल प्रेसमा कार्यरत पत्रकार उमेश कार्कीमाथि थापाले गरेको दुर्व्यवहारको अनलाइन टिभी पत्रकार संघ घोर निन्दा गरेको हो । संघका महासचिव पवनप्रसाद फुयाँलले विज्ञप्ति जारी गरी पत्रकारले सोधेको प्रश्नको जवाफ दिनुपर्नेमा उल्टै हातपात गरिएको भन्दै संघले घटनामा थापाले क्षमा माग्नुपर्ने माग गरेको छ ।

‘पूर्वप्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेपछि नेकपा एसको कार्यालयमा भएको छलफलमा सहभागी भई निस्कने क्रममा पत्रकारहरूले सोधेको प्रश्नमा जवाफ दिनुको सट्टामा क्यामेरामा प्रहार गर्नु अत्यन्त आपत्तिजनक छ, कसैले पनि सोधेको प्रश्नमा जवाफ नदिन पाइन्छ, तर सञ्चारकर्मी तथा सञ्चार साधनमाथि आक्रमण गर्न पाइँदैन, अझ वरिष्ठ अधिवक्ता जस्तो प्रतिष्ठित व्यक्तिबाट त कल्पना समेत गर्न नसकिने व्यवहार हुनु दुर्भाग्यपूर्ण हो’, विज्ञप्तिमा उल्लेख छ ।

प्रेस स्वतन्त्रता र पत्रकारको भूमिकाका बारेमा पर्याप्त जानकार व्यक्तिबाटै भएको यस प्रकारको व्यवहारले प्रेस स्वतन्त्रता र सञ्चारकर्मीहरूको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको संघले जनाएको छ । ‘त्यसैले सञ्चारकर्मीमाथि आक्रमण गर्नु भएका वरिष्ठ अधिवक्ता थापालाई तत्काल क्षमा याचना गर्न हामी माग गर्दछौँ’, विज्ञप्तिमा लेखिएको छ ।

सञ्चारकर्मीहरू नागरिकलाई सत्य सूचना प्रवाह गर्न निरन्तर खटिरहेका उल्लेख गर्दै उनीहरूलाई सुरक्षित वातावरणमा काम गर्ने अधिकार सुनिश्चित गर्नु सबैको दायित्व भएको संघले स्मरण गराएको छ । सरोकारवाला सबैलाई सञ्चारकर्मीको काममा कुनै बाधा अवरोध नगर्न संघले ध्यानाकर्षण गराएको छ ।