
काठमाडौं, २० जेठ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू–भागमा मनसुनी वायुको प्रभाव रहेको छ ।
महाशाखाका अनुसार यसको प्रभावले कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ भने सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
यस्तै, आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहनेछ । कोशी र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी भूभागका एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कोशी र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै, आज राति लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भू–भागका एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।








प्रतिक्रिया