
काठमाडौं, १९ जेठ । नेकपा (एमाले) का सांसद एवम् पोलिट्ब्यूरो सदस्य सूर्य थापाले नेपालको नोटमा पृथ्वीनारायण शाहको फोटो राख्नुपर्ने बताएका छन् ।
आज अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्थासम्बन्धी (बाफिया) विधेयकसम्बन्धी दफाबार छलफलको क्रममा उनले नेपालको एकीकरणकर्ताको तस्बिर नोटमा छाप्ने कुराले राष्ट्र बैंक र देशको इज्जत बढ्ने बताएका हुन् ।
उनले भने, ‘म राजावादी हैन, राजतन्त्र फाल्न लडेको मान्छे हुँ । तर, पृथ्वीनारायणशाहलाई राजावादीले मात्र मान्ने हैन । सबै नेपालीले मान्नुपर्छ । नोटमा पृथ्वीनारायण शाह तस्बिर अंकित नोटको थालनी गर्नुपर्छ । पृथ्वीनारायण शाहकै तस्बिर छैन, के नोट ? पृथ्वीनारायण शाहले रजौटाबाट राजा हुन एकीकरण थाल्नुभयो होला । तर, परिणाममा त्यो नेपालको एकीकरण भयो । नेपालको एकीकरणकर्ताको तस्बिर नोटमा छाप्ने कुराले राष्ट्र बैंक र देशको इज्जत बढ्छ ।’
नोटमा आग्रह, पूर्वाग्रह सबैखाले पर्खाल भत्काउनुपर्ने उनको भनाइ छ ।









प्रतिक्रिया