९ असार २०८३, मंगलबार

देश अझै स्थायित्वको बाटोमा अघि बढ्न सकेन : शंकर पोखरेल

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ जेठ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले देश अझै स्थायित्वको बाटोमा अघि बढ्न नसकेको बताएका छन् ।

नेपाल बुद्धिजीवी परिषद्को ११ औँ राष्ट्रिय अधिवेशनको पूर्वसन्ध्यामा काठमाडौंमा आयोजित राष्ट्रिय बहस ’आर्थिक वर्ष २०८२/०८३ को बजेट समीक्षा, कार्यान्वयनको अवसर र चुनौती’ विषयक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले नेपालको अर्थतन्त्र पनि स्थायित्वको दिशामा अघि बढ्नै नसकेको बताएका हुन् । अनौपचारिक अर्थतन्त्रले नेपालको अर्थतन्त्रले सबैभन्दा बढी प्रभाव पारेको धारणा छ । ‘अनौपचारिक अर्थतन्त्रले औपचारिक अर्थतन्त्रलाई कहिले सङ्कुचित गराइदिन्छ, कहिले फुकाइदिन्छ’, उनले भने ।

अनौपचारिक अर्थतन्त्रलाई औपचारिक अर्थतन्त्रमा ढाल्न आवश्यक रहेको उनले बताए । ‘अर्थतन्त्रलाई गतिशील स्थिर बनाउने हो भने अनौपचारिक अर्थतन्त्रलाई औपचारिक अर्थतन्त्रमा ल्याउन सक्नु पर्नेमा उनले जोड दिएका छन् । अनौपचारिक अर्थतन्त्रले नेपालको घरजग्गा कारोबारमा सबैभन्दा बढी प्रभाव पारेको उनको भनाइ छ । अनौपचारिक अर्थतन्त्रले घर जग्गा कारोबारमा बढेको आकर्षणमा खुसी मान्दा आजको अवस्था आएको भन्दै महासचिवले घर जग्गामा गरेको लगानीको कारण आज सबै क्षेत्र अस्तव्यस्त भएको स्पष्ट पारे । निर्माण व्यवस्थापक रकम लिएर, सहरकीको रकम लिएर, ऋण लिएर घरजग्गामा लगानी गरिएको र त्यहाँ पैसा फस्दा सबै क्षेत्रका काम बरबाद भएका उनको भनाइ छ ।

त्यस्तै पुँजी बजारले पनि नेपालको अर्थतन्त्रलाई प्रभाव पारिरहेको उनको भनाइ छ । पुँजी बजारलाई अस्वाभाविक रूपमा उतारचढाव ल्याउन पनि अनौपचारिक अर्थतन्त्रले काम गरिरहेको उनको धारणा छ ।

दुनियाँमा कहीँ नभएको नीति नेपालमा भएको बताउँदै उनले त्यसमा पनि सुधार आवश्यक रहेकोमा जोड दिए । देशको सबै क्षेत्र मन्दिमा जाँदा पनि बैङ्क भने नाफामा जाने नीति दुनियाँमा काहीँ पनि नहुने पोखरेलले प्रष्ट पारे ।

यस वर्षको बजेटले अर्थतन्त्रका यी समस्यालाई सम्बोधन गर्ने प्रयास गरेको उनले स्पष्ट पारे । ‘अर्थतन्त्रको सङ्कटलाई बजेटले समेट्ने प्रयास गरेको छ, बजेटले निजी क्षेत्रलाई समेट्ने प्रयास गरेको छ’, पोखरेलले भने ।

नेपालमा शासकीय क्षमतालाई प्रवर्धनको लागि कानुनमा सुधार आवश्यक रहेको उनले बताएका छन् ।