५ श्रावण २०८३, मंगलबार

देशको लागि अवसर नै अवसर बनेको केपी शर्मा ओली नेतृत्व

4.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–रेखा न्यौपाने

कुनै–कुनै घडीहरूले समयको पर्खालमा यस्तो गहिरो छाप कोर्छन्, जस्लाई पखाल्न इतिहासकै ठूलो आँधी आउनुपर्छ । केपी शर्मा ओलीको नेतृत्व नेपालका लागि त्यस्तै एक घडी हो । एक यस्तो घडी, जसले थकित मनहरुमा उठ्न सक्ने आँट भर्‍छ र भुल्न लागेका सपनाहरूलाई फेरि उज्यालो तिर फर्काउछ । जब नेतृत्व भविष्यको दिशानिर्देशक बन्छ, देशले नयाँ उचाइ चुम्ने मौका पाउँछ । नेपालजस्तो संक्रमणशील देशमा केपी शर्मा ओली जस्ता नेताहरूको उदय केवल एउटा व्यक्तिको उदय होइन, यो एक युगको संकेत हो, जहाँ राष्ट्रले नयाँ अवसर र चुनौतीको सामना गर्छ ।

नेपालको राजनीति लामो समयदेखि अपूर्ण क्रान्तिहरूको थाति बनेको थियो । एकपछि अर्को परिवर्तनका नारा लागे तर परिवर्तनका वचनहरू प्राय सिँढी चढ्ने भर्याङ्मा मात्र सीमित रहन्थे । जनताले मुठीमा बाँधेका सपना पटक–पटक फुस्किएका थिए, बिलाएका थिए । यस्तै विषण्णताको बगरमा केपी शर्मा ओलीको नेतृत्व एउटा पानीको फोहरा जस्तै फुट्न पुग्यो जो चिसो झरी थिएन, भीषण उर्जा थियो ।

दशकौँसम्म अस्थिर राजनीति भोगेका जनता थाकिसकेका थिए । आन्दोलन, क्रान्ति र परिवर्तनका नाममा खाली आश्वासन बाँड्नेहरूको भीडले देशलाई घाइते बनाएको थियो । यस्तो बेला केपी शर्मा ओलीको नेतृत्वले राजनीतिमा साहस र स्वाभिमानको नयाँ कथा लेख्न सुरु गर्‍यो । उग्र संकट, राजनीतिक अस्थिरता र राष्ट्रियतामाथिको चुनौतीबीच उहाँले नेतृत्व सम्हाल्नुभयो जहाँ उहाँलाई राम्रै थाहा थियो यो यात्रा सजिलो छैन, आँधीहुरीसँग मुस्कुराउँदै जुद्नु पर्ने छ, आलोचनाका बाणसँग कठोरताका साथ खोल्नु पर्नेछ ।

नाकाबन्दीको कालो रातमा जब देश आंशिक मृत्युलाई अँगालिरहेको थियो, केपी शर्मा ओलीले गर्वका साथ भन्नुभएको थियो, “हामी आफ्नै खुट्टामा उभिन सिक्नुपर्छ ।” यो आवाज केवल संसद् भवनमा गुञ्जिएको थिएन, त्यो आवाज गाउँका परालका छानामुनि, सहरका कारखानामा, खेतका भलभलाउने पैताला मुनी पनि गुञ्जिएको थियो । यो त हराएको नेपाली आत्मालाई फेरि जगेर्ना दिने उद्घोष थियो । इतिहास साक्षी छ, राष्ट्रलाई आत्मसम्मानको हिँडाइ तिर फर्काउने नेताहरू बिरलै जन्मन्छन् । केपी शर्मा ओली त्यसैमध्ये एक हुनुभयो । भारतसितको सम्बन्धमा कठोरता देखाउन सक्ने नेपाली प्रधानमन्त्री बिरलै देखिएका मध्ये अडिग उहाँ बन्नुभयो । सीमालाई लत्याउने निर्णयको जवाफ स्वरुप नयाँ नक्सा जारी गर्दा केपी शर्मा ओलीले देखाएको दृढता कुनै साधारण साहस हैन, त्यो सयौँ वर्षसम्म नेपाली आत्मसम्मानको प्रतीक बन्ने ऐतिहासिक कदम बनेको छ ।

प्रधानमन्त्री भएर पहिलो सम्बोधनमा उहाँले भन्नुभएको थियो , “अब विकासको ढोका बन्द रहनेछैन ।” त्यो वचन केवल शब्दको बनावट थिएन, त्यो योजनाको ब्लूप्रिन्ट बन्यो । मेलम्ची परियोजना, गौतमबुद्ध विमानस्थल, पोखरा विमानस्थल, यी केवल संरचनाहरू हैनन्, यी भविष्यका सम्भावनाहरू प्रमाणित हुँदै छन्, जसमा सहर, व्यापार र पर्यटनको सपनाहरू पलाइरहेका छन् ।

विद्युतीय रेलको सपना, अन्तरदेशीय रेल जोड्ने योजना, कृषि यान्त्रिकीकरण, जलविद्युत निर्यात, यी सबै दीर्घकालीन विचारहरू हुन् जसले नेपाललाई उत्पादनशील राष्ट्रमा रूपान्तरण गर्ने बीउ रोप्छ । जलविद्युत उत्पादनमा लोडसेडिङको अन्त्य मात्र होइन, निर्यात गर्न सक्ने स्थितिमा पुर्‍याउने ठोस प्रयास छ । उहाँको दृष्टिमा एउटा स्पष्ट नक्सा छ । जस्ले चिच्याएर भन्छ “नेपाल, जसले आफ्नो भूमिमै रोपेर आफ्नो पेट भर्न सक्छ। नेपाल, जसले आफ्नै खुट्टामा हिँड्न सक्छ । नेपाल, जसले कसैको टुप्पी समाएर होइन, निधार ठोकेर संसारसँग कुरा गर्न सक्छ ।”

केपी शर्मा ओलीको अवसर सिर्जना केवल भौतिक विकासमा मात्र छैन । यो मानसिक क्रान्तिमा पनि छ । उहाँले नेपाली जनतामा ‘हामी सधैं माग्ने होइन, दिने बन्न सक्छौं’ भन्ने विश्वास रोप्नुभएको छ । आत्मनिर्भरता उहाँको राजनीतिक दर्शनको मेरुदण्ड हो । उहाँले बारम्बार भन्नुभयो, “सहायता होइन, साझेदारी चाहिन्छ ।” यो सोचाइले नेपालको परराष्ट्र नीतिलाई नयाँ परिभाषा दिँदैछ । चीनसँग बीआरआई सम्झौता गर्दै, भारतसित तिनैतर्फ चुसिएको सम्बन्धमा सम्मानजक सन्तुलन ल्याउँदै र पश्चिमी शक्तिहरूसँग व्यवहारिक सम्बन्ध विस्तार गर्दै केपी शर्मा ओलीले नेपालको अन्तराष्ट्रिय राजनीति सन्तुलनमा राख्ने प्रयास गर्नु भयो । न त एकअर्कालाई अत्यधिक निकटता, न त एकअर्कालाई अत्यधिक तिरस्कार, यस्तो सन्तुलन कायम राख्न सक्नु, नेपालको भू–राजनीतिक अवस्थालाई विचार गर्दा, असाधारण सफलता हो । तर यो यात्रामा केवल फूलै फूलको बगैँचा थिएन, काँडाहरूको तगारो पनी थियो । तर काँडाबीच बाटो बनाएर अघि बढ्ने नाम नै त नेतृत्व हो ।

जहाँ प्रकाश हुन्छ, त्यहाँ केही छाया पनि हुन्छ । केपी शर्मा ओलीको नेतृत्वले आलोचनाबाट उन्मुक्ति पाएन । उहाँप्रति आरोप लाग्न थाले, सत्ताकेन्द्रित हुन थालेको, आलोचना नसहने स्वभाव बढेको । केपी शर्मा ओलीले आलोचना सहँदै अघि बढ्नु भयो । कहिलेकाहीँ गल्ती पनि गर्नु भयो होला, असहमति व्यवस्थापनमा कमजोरी देखाउनु भयो होला, तर इतिहासमा स्थान बनाउनेहरू सधैँ शतप्रतिशत सन्तुलित हुँदैनन् । उनीहरू समयका आँधीहरूलाई चिर्दै, भुल्दै, सिक्दै, सुधार्दै अगाडि बढ्ने साहस राख्छन् । केपी शर्मा ओली त्यस्तै साहसी पात्र बन्नुभयो ।

भारतसित लिपुलेक, कालापानी र लिम्पियाधुरा मुद्दामा स्पष्ट अडान लिदै केपी शर्मा ओलीले नेपाली अस्तित्वको उद्घोष गर्नुभयो । जब राष्ट्रियता दबिन्छ, तब देश केवल भूगोल रहन्छ, राष्ट्र रहँदैन । केपी शर्मा ओलीले नेपाली भूगोललाई फेरि राष्ट्रमा रूपान्तरण गर्ने प्रयास गर्नु भयो र अझै गर्दै हुनुहुन्छ । अर्कोतिर, अन्तर्राष्ट्रिय मञ्चहरुमा पनि नेपाललाई सजिलै दबाउन नसकिने सन्देश दिनुभयो । उहाँले भन्न थाल्नुभयो, “नेपाललाई हेर्ने दृष्टिकोण फेरिनुपर्छ ।” र साँच्चिकै नेपाललाई हेर्ने नजरमा आत्मसम्मानको चमक थपियो ।

आजको नेपाल हेर्दा प्रष्ट देखिन्छ, केपी शर्मा ओलीको नेतृत्वले न केवल तत्कालीन यथास्थितिमा आँधी ल्यायो, बरु नेपालको भविष्यका लागि नयाँ सम्भावनाहरूको बीज रोप्यो । स्थायित्वको अनुभूति, भौतिक पूर्वाधारको थालनी, आत्मनिर्भरता र स्वाभिमानको पुनर्जागरण, यी सबै केपी शर्मा ओली नेतृत्वले दिएको मूल्यवान अवसरहरू हुन् । यदि आजको पुस्ताले यो अवसर सम्हाल्न सक्यो भने नेपाल दक्षिण एसियाको उदाउँदो शक्तिका रूपमा उदाउन सक्छ । भविष्यको नेपाल कल्पना गर्दै, जहाँ विदेशी भिख माग्न हामी जाँदैनौँ, जहाँ उत्पादन बढ्छ, जहाँ सीमाको रक्षा हुन्छ, जहाँ नेतृत्व हिम्मती हुन्छ, त्यस नेपालको प्रारम्भिक रेखाचित्र कोर्न केपी शर्मा ओलीले एउटा ऐतिहासिक ब्रश चलाउनु भएको छ । अब त्यो चित्रमा रङ भर्ने कि फेरि त्यही पुरानो शैलिमा बिग्रन दिने, त्यो भने अब हामी सबै नेपालीहरूको विवेक र निर्णय क्षमतामा निर्भर छ ।

जब हामी भविष्यका सपना बुन्छौँ, जहाँ नेपाली युवा आफ्नै देशमा उज्यालो भविष्य देख्न सक्छ, जहाँ नेपाली कृषकले पसिना बेचेर होइन, उत्पादन बेचेर बाँच्न सक्छ, जहाँ नेपाली श्रमिकहरूले विदेशमा सस्तो श्रम होइन, स्वदेशमा समृद्धि पाउन सक्छन्, ती सबै सपना देख्दा केपी शर्मा ओलीको झल्को आउने निश्चित छ ।

केपी शर्मा ओलीको नेतृत्व राष्ट्रको लागि केवल एउटा अवसर नभएर, चेतनाको क्रान्ति हो जहाँ आत्मनिर्भरता, स्वाभिमान र स्वतन्त्रता फुल्दछ । नेतृत्व सधैँ परिपूर्ण हुँदैन । गल्ती हुन्छन्, असफलता हुन्छन् । तर इतिहासले मूल्यांकन गर्छ, कसले राष्ट्रको आँच बचाउन प्रयास गर्‍यो, कसले राष्ट्रको मेरुदण्ड सीधा बनाउन आँट गर्‍यो । केपी शर्मा ओली त्यस्तो नेता हो, जसले नेपाललाई फेरि एकपटक ढाड सीधा गरेर संसार सँगै हिँड्न सिकाउने साहस देखाउनु भएको छ ।

प्रश्न अब केवल इतिहास लेख्ने मात्र हो र ? त्यो इतिहासलाई साँच्ने र भविष्यमा रूपान्तरण गर्ने हो । प्रश्न केवल आलोचना र समर्थनको होइन । प्रश्न हो, के हामी केपी शर्मा ओलीले सिर्जना गरेको आत्मनिर्भरताको यात्रालाई निरन्तरता दिन सक्छौँ ? के हामी त्यो अवसरलाई जोगाउन सक्छौँ ? कि फेरि विगतका झुटा सपना र भुत्ते राजनीतिमा फसेर स्वाभिमान गुमाउनेछौँ ? उत्तर हाम्रो हातमा छ । इतिहासले प्रमाण दिने छ ।

कुनै दिन, एक जना केपी ओली हुनुहुन्थ्यो, जसले देशलाई फेरि सपना देख्न सिकाउनु भएको थियो । एउटा मानिस उठेको थियो, जसले नेपाली मनमा फेरि एकपटक देशप्रेम बल्झाएको थियो । जसले बुझेको थियो साँच्चै राष्ट्र बनाउन स्वाभिमान, साहस र सपना जरुरी हुन्छ ।

सपना केवल देखेर होइन, बाँचेर पूरा गर्नु पर्छ । त्यसका लागि आजको पुस्ताले आगो बोक्नुपर्छ, त्यो आगो जुन एउटा नेताले मात्र होइन, एउटा स्वाभिमानी देश प्रेम र चेतनाले जलाएको होस् । केपी शर्मा ओलीको नेतृत्वले सम्भावनालाई जन्माएको हो ।

अब त्यो सम्भावना पूर्णतामा फुल्ने कि ओइलाउने, यस्को उत्तर आजको पुस्ताले दिनुपर्नेछ, हामीले भार बोक्नु पर्छ ।