काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले मुलुकमा पछिल्लो समय फरक विचारमाथि असहिष्णुता, राज्यशक्तिको प्रतिशोधपूर्ण प्रयोग र राजनीतिक पूर्वाग्रहका आधारमा हुने दमन बढ्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनले यस्ता प्रवृत्ति लोकतान्त्रिक संस्कृतिका लागि घातक भएको उल्लेख गर्दै लोकतान्त्रिक मूल्य र नागरिक अधिकारको संरक्षणमा कुनै सम्झौता नहुने स्पष्ट पारेका छन्।
जननायक बीपी कोइरालाको स्मृति दिवसका अवसरमा जारी दुई पृष्ठ लामो सन्देशमा देउवाले राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र जनताको सर्वोच्चताको बीपीले अघि सारेको विचार आज पनि नेपाली कांग्रेसको मार्गदर्शक सिद्धान्त रहेको बताएका हुन्।
बीपी कोइरालाकै नेतृत्वमा राजनीतिक यात्रा सुरु गर्न पाउनु आफ्नो जीवनको सबैभन्दा ठूलो सौभाग्य भएको उल्लेख गर्दै उनले बीपीबाट प्राप्त लोकतान्त्रिक संस्कार, जिम्मेवारी र विश्वासले आफ्नो राजनीतिक जीवनलाई निरन्तर मार्गदर्शन गरेको बताएका छन्।
देउवाले विगत छ दशकभन्दा बढी समय नेपाली कांग्रेसमा सक्रिय रहँदा निरंकुशता, अधिनायकवाद र लोकतन्त्रविरोधी शक्तिविरुद्ध निरन्तर संघर्ष गरेको स्मरण गरेका छन्। जेल, प्रतिबन्ध, राजनीतिक दमन र कठिन परिस्थितिका बाबजुद पनि लोकतन्त्र, संविधानवाद र जनअधिकारप्रतिको आफ्नो विश्वास कहिल्यै नडगमगाएको उनको भनाइ छ।
सन्देशमा नेपाली कांग्रेसले लोकतान्त्रिक आन्दोलनदेखि शान्ति प्रक्रिया, संविधान निर्माण, भूकम्पपछिको पुनर्निर्माण र कोभिड–१९ महामारीका बेला समेत जिम्मेवार भूमिका निर्वाह गरेको उल्लेख गरिएको छ। ती अनुभवले वर्तमान चुनौतीसँग जुध्न पार्टीलाई अझ सक्षम र जिम्मेवार बनाएको देउवाको भनाइ छ।
हाल स्वास्थ्य उपचारका लागि विदेशमा रहे पनि आफ्नो ध्यान देश, जनता, लोकतन्त्र र राष्ट्रिय हितमै केन्द्रित रहेको उल्लेख गर्दै देउवाले नेपालका पछिल्ला राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेको बताएका छन्।
‘आज फरक विचारप्रतिको असहिष्णुता, राज्यशक्तिको प्रतिशोधपूर्ण प्रयोग र राजनीतिक पूर्वाग्रहका आधारमा हुने दमन लोकतान्त्रिक समाजका लागि स्वीकार्य हुन सक्दैन,’ देउवाले सन्देशमा उल्लेख गरेका छन्।
उनले नेपाली कांग्रेसको इतिहास नै अन्याय, दमन र निरंकुशताविरुद्ध संघर्षको इतिहास भएको उल्लेख गर्दै लोकतन्त्र, संविधान र नागरिक स्वतन्त्रताको रक्षामा पार्टी विगतमा जस्तै भविष्यमा पनि अडिग रहने बताएका छन्।
बीपी कोइरालाको स्मृतिप्रति श्रद्धाञ्जली अर्पण गर्दै देउवाले लोकतान्त्रिक मूल्य, राष्ट्रिय एकता र जनताको अधिकारको संरक्षणका लागि सबैलाई एकजुट भएर अघि बढ्न आग्रह गरेका छन्।

Screenshot











प्रतिक्रिया