
काठमाडौं, १ वैशाख । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नयाँ वर्ष विक्रम संवत् २०८२ विकास र समृद्धिको वर्ष हुने बताएका छन् ।
एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तर्राष्ट्रिय कमिटीले नयाँ वर्ष २०८२ को अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई आज साँझ भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
प्रवासी नेपाली दाजुभाई दिदीबहिनीहरूमा नयाँ वर्षको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले बिदाई भएको वर्ष २०८१ नेपालका लागि सकारात्मक रहेको उल्लेख गरे । उनले गत वर्ष नेपालले स्थिरता र स्थायित्व भएको सरकार पाएको सुनाए । यस अवधिमा देशलाई विधिमा हिँडाउने, सुशासन स्थापना गर्ने र विकासको गतिलाई अगाडि बढाउने कार्यहरू भएको प्रधानमन्त्री ओलीको भनाइ थियो ।
यसैगरी, प्रधानमन्त्री ओलीले २०८१ सालमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षालाई पूरा गर्ने साझा संकल्पलाई साकार पार्ने प्रयासमा लाग्न पाएको बताए । प्रधानमन्त्री ओलीले २०८१ सालमा केही असन्तुष्टिका क्रियाकलापहरू देखिएको तर अघिल्लो वर्ष भ्रष्टाचार नियन्त्रणका लागि सुशासनका आधारहरू तयार भएको उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले २०८२ साल राष्ट्रिय एकतालाई थप मजबुत बनाउने वर्ष हुने समेत बताए । उनले सबै नेपालीहरू विकास निर्माणका काममा एकजुट भएर अघि बढ्नुपर्ने र यो वर्ष त्यसैका लागि साझा वर्षको रूपमा लिनुपर्ने विचार व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले प्रवासमा रहेका नेपालीहरूलाई देशले सधै माया गर्ने र प्रवासमा रहेका नेपालीहरूले पनि देशलाई माया गर्दै देशको साझा लक्ष्यमा हातेमालो गर्नुपर्नेमा जोड दिए । यसका साथै, प्रधानमन्त्री ओलीले गैरआवासीय नेपालीहरूले पाउने अधिकारहरूको व्यवस्था सरकारले गरिसकेको र यो कार्यान्वयनको चरणमा रहेको जानकारी पनि गराए ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रवासी नेपाली मञ्च (ओएनएफ)को आधिकारिक वेबसाइटको शुभारम्भ गर्नुका साथै एक विशेष प्रवास गीतको पनि लोकार्पण गरेका थिए ।
प्रवासी नेपाली मञ्चका अध्यक्ष सञ्जय थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन मञ्चका सचिव हेम शेर्पाले गरेका थिए । कार्यक्रममा विभिन्न देशहरूमा रहेका प्रवासी नेपाली समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको उपसचिव तथा प्रचार विभाग प्रमुख चानक पोखरेलले जानकारी दिए ।








प्रतिक्रिया