१९ असार २०८३, शुक्रबार

‘नयाँ वर्षसँगै लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्था सुदृढ हुनेछ’

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ वैशाख । गृहमन्त्री रमेश लेखकले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थालाई थप सुदुढीकरण गर्दै देशमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिका लागि आह्वान गरेका छन् ।

नयाँ वर्ष २०८२ सालको अवसरमा आज स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीमा सुख, शान्ति, सु–स्वास्थ्य, समृद्धि एवं प्रगतिको कामनासहित शुभकामना व्यक्त गरेका हुन्। उनले सन्देशमा भनेका छन्, ‘हामी सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थामा र समावेशी चरित्रको राज्य निर्माण गर्ने राजनीतिक व्यवस्थामा छौँ, नयाँ वर्षसँगै यो व्यवस्था अझै सुदृढ हुने छ ।’ उनले नेपाल बहुजातिय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक, समाज भएको देश भएको उल्लेख गर्दै त्यो नै नेपालीको सम्पत्ति र विशेषता भएको उल्लेख गरेका छन् ।

नेपाली समाज सबै जातजाति धर्म, वर्ण, समुदाय र भूगोल एकआपसमा मिलेर बसेको समाज रहेको स्पष्ट पार्दै उनले एक अर्काकाप्रति सहिष्णु हुँदै सबैले एक अर्काको धर्म, जाती, संस्कृति र भाषालाई सम्मन गर्दै मिलेर देश विकासमा अगाडी बढ्नुपर्नेमा जोड दिएका छन् ।

त्यसैगरी, कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नयाँ वर्षले हामी सबैमा नयाँ सोच, नयाँ समाधान र थप जोश, जाँगर सिर्जना गरी मुलुकलाई शान्ति र समृद्धिको दिशामा अग्रसर गराओस् भनी शुभकामना व्यक्त गरेका छन् ।

‘नयाँ वर्षले हामी सबैमा उत्साह, उमङ्ग र ऊर्जा भरेर देशको समृद्धि र विकासमा योगदान पुर्‍याउन प्रेरणा प्रदान गर्न सकोस् भन्ने शुभेच्छा व्यक्त गर्दछु । कृषि प्रधान हाम्रो देशको समुन्नति र आत्मनिर्भरता कृषिको आधुनिकीकरण र व्यावसायीकरणबाट मात्र सम्भव छ भन्ने दृढ विश्वास लिएको छु’, उनले सन्देशमा भनेका छन् ।

सामुदायिक स्तरदेखि राष्ट्रिय नीतिसम्म समन्वय गरी कृषकको जीवनस्तर उकास्न, पशुपालन व्यवसायलाई प्रवर्द्धन गर्न र खाद्य सुरक्षालाई सुनिश्चित गर्न मन्त्रालय प्रतिबद्ध रहेको उनको भनाइ छ ।

सरकारले कृषि क्षेत्रको विकासका लागि विभिन्न नीतिगत सुधार, प्रविधिको प्रयोग र कृषकमैत्री कार्यक्रम अघि बढाउँदै आएको जानकारी दिँदै मन्त्री अधिकारीले भनेका छन्, ‘आगामी दिनमा कृषि क्षेत्रमा गरिएका प्रतिबद्धतालाई सार्थक रुप प्रदान गर्नको लागि हाम्रो प्रयासहरु त्यस तर्फ केन्द्रित हुनेछ ।’