२० असार २०८३, शनिबार

वैशाख ७ गते याकचौरी दिवस मनाइने

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ चैत । नेपालमा वैशाख ७ गतेलाई याकचौरी दिवसको रुपमा मनाइने भएको छ ।

सरकारले २०३० साल वैशाख ७ गते सोलुखुम्बुको स्याङबोचेमा पहिलोपटक याक फर्म स्थापना भएको दिनलाई आधार मानेर प्रत्येक वर्ष याकचौरी दिवस मनाउने निर्णय गरेको हो । जसअनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालयको आयोजना र याकचौरी व्यवसायी कृषक महासंघको सहआयोजनामा आउँदो वैशाख ७ गते काठमाडौंमा याकचौरी दिवस मनाइँदैछ ।

पहिलोपटक मनाउन लागिएको याकचौरी दिवसको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको याकचौरी व्यवसायी कृषक महासंघका अध्यक्ष पालिहाङ राईले जानकारी दिए ।

आयोजकका अनुसार दिवसका अवसरमा र्‍याली, कृषक सम्मान, चिज, छुर्पी, घिउसहित याकचौरीका उत्पादनको प्रदर्शनी लगायतका कार्यक्रम हुनेछन् । कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतका निकायसँगै वन मन्त्रालय, पर्यटन मन्त्रालय, इसिमोड, एफएओ, डब्लडब्लु एफसहितका संघ संस्था र विभिन्न जिल्लाबाट याकचौरी कृषकहरुले प्रतिनिधिमुलक सहभागिता जनाउनेछन् ।

महासंघका उपाध्यक्ष लालकुमार केसीले लामो समयको प्रयासपछि याकचौरी व्यवसायलाई उत्सव र दिवसकै रुपमा प्रवर्द्धन गर्न लागिएको बताए । ‘याकचौरी व्यावसाय संकटमा पर्दै गएको सन्दर्भमा सरकारले दिवसकै रुपमा मनाउने र याकचौरी कृषकलाई प्रोत्साहन गर्ने नीति लिनु खुसीको कुरा हो, यो लामो प्रयासपछिको प्रतिफल हो, यसलाई अझ प्रभावकारी बनाउने अभियानमा हामी लाग्छौँ,’ उनले भने ।

हिमाली क्षेत्रको गहनाको रुपमा रहेको याकचौरी जोगाउन प्रभावकारी नीति, कार्यक्रम र योजना ल्याउन सरकारले ढिला गर्न नहुने उनले बताए । याकचौरी कृषिसँगै पर्यटन प्रवर्द्धन, जैविक विविधता र पर्यावरण संरक्षणका दृष्टिले पनि महत्वपूर्ण भएकोले यसमा सरकारको विशेष ध्यान पुग्नुपर्ने उनको भनाई छ ।

महासंघको तथ्यांक अनुसार हाल सोलुखुम्बु, डोल्पा, हुम्ला, मुस्ताङ, मनाङ, दोलखा, ताप्लेजुङ, रसुवा, गोरखा, संखुवासभा, मुगु, सिन्धुपाल्चोक, रामेछाप, पाँचथर, भोजपुर, जुम्ला, म्याग्दी, दार्चुला, ओखलढुंगा, कास्की, बझाङ, खोटाङ, धादिङ, कालिकोट, बाजुरा, इलाम, लमजुङ, नुवाकोट र रुकुम जिल्लामा कृषकहरु याकचौरी व्यवसायमा संलग्न छन् । नेपालको २९ जिल्लामा ७० हजारको हाराहारीमा याकचौरीको संख्या रहेको अनुमान छ ।