
वीरगञ्ज, ३० चैत । नयाँ वर्ष २०८२ को स्वागतमा आयोजित रात्रि बजार शनिबार स्थगित भएको छ ।
वीरगञ्ज महानगरपालिकाको आयोजनामा शुक्रबारदेखि सुरु भएको रात्रि बजार आइतबारसम्म सञ्चालन हुने लक्ष्य रहेको थियो ।
हनुमान जयन्तीको अवसरमा आज आयोजित शोभायात्रामा दुई समुदायबीच भएको झडप हिंस्रक भई स्थानीय प्रशासनले कर्फ्यू जारी गरेपछि महानगरपालिकाले आजका लागि रात्रि बजार स्थगित गरेको हो । भोलिको रात्रि बजार लाग्ने नलाग्ने विषयमा भने परिस्थिति अनुरुप निर्णय लिइनेछ । कर्फ्यू जारी रहने वा नरहने विषयले भोलिको रात्रि बजारको निर्णय हुने आयोजक वीरगञ्ज महानगरपालिकाले जनाएको छ ।
नयाँ वर्ष २०८२ को अवसर पारेर वीरगञ्ज महानगरपालिकाले आदर्शनगरस्थित पुरानो बसपार्कमा ‘रात्रि बजार’ आयोजना गरेको थियो ।
नयाँ वर्षको उपलक्ष्यमा आयोजना गरिएको रात्रि बजारले वीरगञ्जको अर्थतन्त्र चलायमान बनाउनुका साथै अबेरसम्म बजार सञ्चालन हुने वातावरण बनाउने विश्वास लिइएको थियो । यसअघिका वर्ष पनि महानगरले रात्रि बजार सञ्चालन गर्दै आएको थियो । महानगरले रात्रि बजार सञ्चालनका लागि विभिन्न संघसंस्थासँग सहकार्य गरेको छ ।
ग्रीन सिटी सामुदायिक सेवा प्रहरी केन्द्र, एनवाईईएफ, वीरगञ्ज साइकलिङ क्लब, ओमेन्स क्रिएसन र फोरजीआरसँगको समन्वयमा महानगरले रात्रि बजार लगाएको हो ।








प्रतिक्रिया