
पर्सा, ३० चैत । पर्साको वीरगञ्जमा दुई समूहबीचको झडपले स्थिति तनावग्रस्त बनेपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको सुरक्षा समितिको बैठकपछि वीरगञ्जका विभिन्न क्षेत्रमा प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको कर्फ्यू आदेशमा आज साँझ ७:३० बजेदेखि भोलि दिनको १२ बजेसम्म कर्फ्यू रहने उल्लेख छ ।
पूर्वमा भेडियाही चोक, पश्चिममा सिर्सया पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्म कर्फ्यू आदेश जारी गरिएको छ । यो सिमाना भित्र कसैलाई आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदशन, सभा, बैठक, घेराउ लगायत गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्यालले जानकारी दिए । उनका अनुसार स्थानीय प्रशासन ऐन ,२०२८ को दफा ६ (क) बमोजिम कर्फ्यू आदेश जारी गरिएको हो ।

हनुमानको जन्मजयन्तीको अवसरमा निस्केको शोभायात्रा छपकैयाको इदगाह चोकमा पुगेपछि झडप भएको हो । शोभायात्रामा सहभागीहरूले उच्छृङ्खल गतिविधि गरेको भन्दै अर्को समूहले आरोप लगाएपछि दुवै पक्ष बीच झडप भएको बताइएको छ ।
झडपमा परेर स्थानीय र प्रहरीसमेत घाइते भएका छन् । उनीहरूको अहिले वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ ।













प्रतिक्रिया