
काठमाडौं, ३० चैत । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले नयाँ सरकार आएपछि देशमा आर्थिक, सामाजिक विकास र कूटनीतिक सम्बन्धका क्षेत्रमा पनि धेरै काम भएको बताएका छन् ।
एमाले सोलुखुम्बु–काठमाडौं सम्पर्क मञ्चले नयाँ वर्षको अवसरमा शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन ज्ञवालीले सरकार बनेपछि सङ्क्रमणकालीन न्याय सम्बन्धी कानुन बनेर पीडितले न्याय पाउने आधार निर्माण भएको, छिमेकी देश बीच सन्तुलित सम्बन्ध कायम गरी देशलाई अघि बढाउने काम भएको, सहकारीका बेथिति अन्त्य गरेर पीडितलाई न्याय दिलाउन पहल गर्ने लगायतका काम भएको बताए । सहकारी ठगीमा संलग्न जो भए पनि उनीहरूको मुख नहेरी कानुनी कारबाहीको प्रक्रिया अघि बढेको ज्ञवालीले स्पष्ट पारे । ‘जो सुकै मानिस जिम्मेवार होस्, कानुनका नजरमा सबै समान छन्’, उनले भने ।
मुलुकले अहिले एउटा कोर्स समातेको बताउँदै उनले यो कोर्स उल्टाउने र मुलुकलाई अस्थिरता तिर धकेल्ने कोसिस विभिन्न कोणबाट भइरहेको बताए । नेपालको सबैभन्दा ठूलो समस्या अस्थिरताको समस्या भएको बताउँदै उनले अहिले पनि तिनै तत्त्वहरूले देशलाई अस्थिरतामा लैजाने प्रयास गरिरहेका बताए । ‘पानी धमिल्याउने, माछा मार्ने, कमजोर राज्य बनाउने दोहन गर्ने, मुख्य पार्टीलाई किनारा लगाउने र विचौलियाहरूले राज्य चलाउने, यो खालको श्रृखलालाई हामीले रोक्ने प्रयत्न गर्यौँ, अहिले त्यसलाई फेरि उल्टाउने खेल भइरहेको छ’, उनले भने ।
अस्थिरताको खेलमा खेल्न फेरि पनि माओवादी अध्यक्ष प्रचण्डले प्रयत्न गरिरहेका ज्ञवालीले बताए । प्रचण्डले अहिले कांग्रेस सरकार बनाओस् हामी बाहिरबाट सघाउँछौँ भनेर अहिले ललिपप फालेको ज्ञवालीले बताए । प्रचण्डको यो कुरा कसैले पत्याउन नसकिने उनले स्पष्ट पारे ।
यही अस्थिरताको खेल भित्र सम्पूर्ण हिसाबले समाप्त भएको सामन्ती राजतन्त्रले समेत टाउको उठाउने प्रयत्न गरेको उनले बताए । आफूलाई राजावादी भन्ने र पूर्वराजाका समर्थक ठान्नेहरू फेरि सलबलाउन लागेका ज्ञवालीले टिप्पणी गरे । पूर्वराजावदीले चैत १५ गते तीनकुनेमा गरेको आन्दोलन कुनै राजनीतिक आन्दोलन नभएको उनले स्पष्ट पारे । ‘उनीहरूको प्रयत्न आयल निगमको इन्धन स्टोरमा आगो लगाएर देशलाई तहसनहस बनाउने आपराधिक सोच थियो, पत्रकालाई ज्युँदै जलाउनेसम्मका हर्कत भए’, उनले भने ।
एमाले देश बन्छ र बनाउन सकिन्छ भन्ने विचारको प्रतिनिधित्व गर्ने पार्टी भएको उनले बताए । तर अर्को पक्ष देशमा केही भएन, केही हुँदैन भन्ने पक्षधर रहेको ज्ञवालीले स्पष्ट पारे । केही मानिसहरू फेरि जातीय सद्भाव खलबल्याउन सकिन्छ कि भनेर लागेका उनले बताए । देशलाई फेरी द्वन्द्वतिर धकेल्नका लागि अनेक खालका प्रयास भएका उनको धारणा छ ।
लोकतन्त्र र राजतन्त्र सँगै जान सक्दैन भन्ने निष्कर्षका साथ नेपालमा राजतन्त्र फालिएको उनले बताए । त्यसैले अब नेपालमा राजतन्त्र नफर्किने र फर्कन नदिने ज्ञवालीले प्रतिबद्धता व्यक्त गरे ।
राजतन्त्रले घुँडा टेकेको दिन वैशाख ११ गते लोकतन्त्र दिवस सेलिब्रेसनको कार्यक्रम आयोजना गरेको उनले बताए । त्यसमा सहभागिता जनाउ युवाहरूलाई ज्ञवालीले आह्वान गरे ।












प्रतिक्रिया