९ असार २०८३, मंगलबार

प्रदेश सरकार निजामती सेवालाई बलियो बनाउन चाहन्छ : मुख्यमन्त्री आचार्य

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, २९ चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश र स्थानीय तहको निजामती सेवालाई प्रभावकारी बनाउन प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गरेको बताएका छन् ।

नेपाल निजामती कर्मचारी संगठन लुम्बिनी प्रदेशको आयोजनामा शुक्रबार बुटवलमा भएको नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले ऐन, कानुन र नियमावलीमार्फत निजामती सेवालाई प्रभावकारी बनाउन प्रदेश सरकारले ध्यान दिएको र सोही अनुसार काम भइरहेको बताएका हुन् । प्रदेश तहबाट नै सचिव राख्न सक्ने व्यवस्थालाई संस्थागत गर्न पहल जारी राखेको समेत बताए ।

‘तपाईंहरू मध्येबाटै प्रदेश सरकारका सचिव बन्नुपर्छ भन्ने मान्यता राखेर सरकार अघि बढेको छ,’ उनले भने, ‘प्रदेश तहमा निजामती सेवामा आकर्षण बढाउन ध्यान दिएका छौँ । कर्मचारीको मनोबल उच्च राखेर नै समृद्ध प्रदेश बनाउन सकिन्छ ।’ रिक्त पदपूर्तिका लागि प्रदेश लोकसेवा आयोगमार्फत प्रक्रिया अघि बढेको तर प्रशासन सेवातर्फ अदालतमा मुद्दा परेका कारण विज्ञापन हुन नसकेको भनाइ उनको छ ।

‘कहाँ मिलेको छैन, त्यहाँ सरकारले मिलाउन तयार छ । कर्मचारी साथीहरू संवादमा आउन जरुरी छ,’ उनले भने, ‘संवादको माध्यमबाट समस्या समाधान गर्न सरकार तयार छ । तर, ढोका बन्द गर्ने काममा कोही नलाग्नुस् ।’

प्रदेशलाई बलियो बनाउन कर्मचारी प्रशासनलाई मजबूत बनाउन सरकार लागिपरेको भए पनि केही कर्मचारी अदालत जाने प्रवृत्तिका कारण कर्मचारीको रिक्तताको प्रश्न गम्भीर रूपमा उठेको बताए । ‘हाम्रा साथीहरू अदालत धाएकै कारण कर्मचारीले जुन वृत्तिविकासको अवसर पाउने हो, त्यो ढिलाइ भयो,’ उनले भने, ‘अवसरलाई वञ्चित गर्न कर्मचारी साथीहरू नै लाग्यौँ । ती नमिलेका कुराहरू मिलाउन सकिन्थ्यो, तर कर्मचारी साथीहरू ढोका नै बन्द गरेर लाग्यौँ ।’