२७ असार २०८३, शनिबार

दमकमा चैत ३० गते एमालेको जनसभा, १ लाख जनता सडकमा उतार्ने तयारी

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, २६ चैत । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश कमिटीका इञ्चार्ज शेरधन राईले झापाको दमकमा हुने एमालेको जनसभा जनताको साझा कार्यक्रम रहेको बताएका छन् । आज झापाको दमकमा प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले चैत ३० को कार्यक्रम जनताको मुद्दामा केन्द्रीत हुने बताए ।

एमाले सरकारमा छ, एमाले नै सडकमा किन आउनुपर्‍यो भन्ने जिज्ञासाबारे बोल्दै नेता राईले भने– ‘लोकतन्त्र र गणतन्त्र सत्ताको मात्र विषय होइन । यो जनताको मुद्दा हो । यो जनसभा सरकारको कामसँग सम्बन्धित छैन । जनताले आफ्नो बलिदानीबाट प्राप्त गरेको उपलब्धीसँग सम्बन्धित छ । यो सवाल आम जनताको सवाल हो, जनताको सवाल एमालेको सवाल हो । त्यसैले सडकमा आउँछौँ ।’ संविधानको रक्षाका लागि सडकमा आएको उनको धारणा छ ।

राष्ट्रहितका लागि निर्णायक शक्ति एमाले भएकाले उपलब्धी रक्षाका लागि जनसभाको आयोजना गरिएको उनको धारणा छ । ‘एमाले जनताको आवाज बोकेर हिँड्ने पार्टी भएकाले चैत ३० गते सबैलाई सहभागी हुन आह्वान गर्दछौँ,’ उनले थपे ।

दमक–७ स्थित पशुहाटमा आयोजना गरिने जनसभामा एमालेले १ लाख जनता उतार्ने तयारी गरेको छ । कोशी प्रदेश स्तरीय जनसभाको आवश्यक तयारी अन्तिम चरणमा पुगेको मूल स्टेरिङ कमिटीका संयोजक पार्टीका स्थायी कमिटी सदस्य शेरधन राईले जानकारी दिए । जनसभाको प्राविधिक कामहरु धमाधम भइरहेको बताउँदै उनले चैत ३० गते सबै झापाबासी जनतालाई सहभागिताका लागि आह्वान गरेका छन् ।

यस्तै, पत्रकार सम्मेलनमा उनले जनसभामा सहभागीहरु आफ्नै व्यवस्थापनमा आउने बताए ।

जनसभाको प्रचारका लागि २९ गते मोटरसाइकल र्‍याली आयोजना गरिएको बताइएको छ । दमकबाट सुरु हुने र्‍याली बाह्रघरे–स्कुल चौन–गौरीगञ्ज–गौरादह हुँदै पाँडाजुँगीमा समापन हुनेछ ।

सभालाई पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् ।