१५ असार २०८३, सोमबार

मकवानपुरगढीमा लाखौँ खर्चेको स्ल्याब सडक एक महिनामै चिराचिरा

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, २६ चैत । प्राविधिकहरूको भनाइ अनुसार ढलान (स्ल्याब) गरिएको सडक ३० देखि ४० वर्षसम्म टिक्ने गर्दछ । तर, मकवानपुरगढी गाउँपालिका वडा नं. २ मा भने सडक ढलान गरिएको महिना दिन नपाउँदै चिराचिरा भएर फुटेको अवस्था छ ।

गैरीभञ्याङ कुर्लेदमार सडकखण्डमा पहिलो चरणमा शिवम् सिमेन्ट उद्योगको लगानीमा करिब १५० मिटर स्ल्याब निर्माण गरिएको थियो । त्यसपछि गाउँपालिकाकै ३२ लाख र तेस्रो पटक २० लाख रुपैयाँ लगानीमा सडक ढलान गरिएको थियो । तीनै चरणमा ढलान बनाएका सडकहरू सञ्चालनमा आएको एक महिनादेखि फुट्न सुरु भएर अहिले चिराचिरा परेको अवस्था छ ।

त्यस्तै, केही हप्ता अगाडि मात्र सामाजिक उत्तरदायित्वअन्तर्गत शिवम् सिमेन्टको लगानीमा बाईपास खण्डमा बनेको स्ल्यावले झन् हप्ता दिन पनि टिक्न सकेन । फुट्न सुरु भइरहेको छ । अब यसको चिराचिरा बन्ने प्रष्ट छ ।

गैरीभञ्याङ–कुर्ले खण्डको बाँकी भागमा पालिकाले ७७ लाख लगानीमा पक्की सडक बनाउँदैछ । पहिला बनेका स्ल्याव चिराचिरा भएर फुटेपछि अब बन्ने सडक ढलान पनि एक महिनादेखि फुट्न सुरु भएर चिराचिरा पर्ने त होइन ? भनेर स्थानीयबासी चिन्तित छन् । ढलानमा प्रयोग गरिने गोलो गिट्टी र बालुवा गुणस्तरीय नभएको स्थानीयहरूको गुनासो छ ।

कच्चा पदार्थको मापदण्ड नै स्वीकृत नगरी गिट्टी र बालुवा थुप्रो लगाउँदा पनि स्थानीय सरकारले कुनै चासो नदेखाएको उनीहरूको आरोप छ । ‘पहिले यही सामरीकै गोलो गिट्टी र बालुवा हालेको स्ल्याव बनाइएको थियो, अहिले पनि सामरीकै हाल्दैछन्,’ स्थानीय विष्णु चौरेलले भने, ‘लाखौँ खर्चेर बनाएका स्ल्यावहरू कुनै कामका छैनन्, अब बन्ने पनि टिक्ला भनेर ढुक्क हुने अवस्था छैन् ।’

अर्का स्थानीय हरि हुँमागाईं भने, ‘सडक ढलान कति समयसम्म टिक्ने हो ? यसको ग्यारेन्टीको जिम्मेवारी पालिका र निर्माण कम्पनी एलाइभ कन्स्ट्रक्सन कम्पनीले लिनु पर्ने हो । नत्र लाखौं खर्चेर बनाएको सडक ढलान वर्षदिन पनि टिकेन भने राज्यको लगानी बालुवामा पानी बराबर हुनेछ ।’

सामरीको बालुवा ल्याव परीक्षणबाट पास भएकोले प्रयोग गर्न सकिने राजस्व, योजना र अनुगमन शाखाका प्रमुख प्रकाश न्यौपानेले बताए । उनका अनुसार पालिकाबाट स्वीकृत भएको ‘एन १५’ (१ बोरा सिमेन्टमा २ बोरा बालुवा र ४ बोरा गिट्टीको घोल) रहेको र मोटाई पनि २ इन्च थप गरेर १० इन्च बनाइएको छ । सडकमा ओभरलोडका गाडी चल्ने भएकाले टिक्ने ग्यारेन्टी दिन नसक्ने उनले बताए । कामको गुणस्तरीयतालाई ध्यानमा राखेर प्राविधिक खटाइएको पालिकाका प्रमुख इन्जिनियर हेमराज जोशीले जानकारी दिए । ‘स्ल्याव लामा समयमा टिकाउन सवारी कति गुढ्छन् ? कति टन सक्छन् ? त्यो अध्ययन गरेर बनाउनुपर्छ, अनि टिक्छ,’ उनले भने, ‘त्यो अभ्यास यहाँ छैन ।’