१० असार २०८३, बुधबार

धनगढीमा एमालेको विशेष सभालाई तीन पदाधिकारीले सम्बोधन गर्ने

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली, २६ चैत । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले कैलालीको धनगढीमा आयोजना गर्न लागेको प्रदेशस्तरीय विशेष सभामा एमालेका तीन पदाधिकारीले सम्बोधन गर्ने भएका छन् ।

आगामी चैत २९ गते धनगढीमा हुने बृहत विशेष सभामा नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवाली, महासचिव शंकर पोखरेल र सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्टले सम्बोधन गर्ने कार्यक्रम तय भएको एमाले प्रदेश उपसचिव तथा प्रदेश प्रचार तथा प्रकाशन विभाग प्रमुख भागरथी विष्टले जानकारी दिइन् । प्रदेश कमिटी सचिवालयको छैटौँ बैठकले बृहत विशेष सभाको तयारी तीव्र बनाउने निर्णय गर्दै र सम्बोधन गर्ने नेताहरूको बारेमा जानकारी गराइएको थियो ।

‘लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास, संविधानको रक्षा र अराजकताविरुद्ध आयोजन गर्न लागिको कार्यक्रम भव्य बनाउने गरी तयारी गर्ने छलफल भएको छ’ उपसचिव विष्टले भनिन्, ‘केन्द्रीय तीन पदाधिकारीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । ’ एमालेले देशभर सञ्चालन गरिरहेको वडा केन्द्रित टोल अभियानको निरन्तरताका रुपमा कैलालीमा सभा आयोजना गर्न लागिएको उनले बताइन् ।

सभामा सबै तहका नेता, कार्यकर्ता, तथा परिवर्तन पक्षधर आम जनतालाई सहभागी हुनेगरी व्यवस्था गर्न सचिवालय बैठकमा एमाले केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्टले बताएका थिए । ‘परिवर्तन विरोधी गतिविधिविरुद्ध कडा सन्देश दिन सभा आयोजना गरिएको हो’ इन्चार्ज भट्टले भने ‘जनताको साथमा एमाले छ भन्ने सन्देश पनि सभाले दिनेछ ।’ पार्टीले यस सभालाई सुदूरपश्चिममा शक्ति प्रदर्शनसहित जनचेतना अभिवृद्धिका रुपमा लिएको छ ।

सचिवालय बैठकमा सभाको व्यवस्थापन र तयारीसहित पार्टीलाई अझै जनमुखी केन्द्रित बनाउने बारे छलफल भएको थियो ।

स्ववियु निर्वाचनको समीक्षा गर्दै बाँकी रहेका कलेजहरूमा अखिललाई जिताउने गरी लाग्ने, अधिवेशन गर्न बाँकी रहेका सबै कमिटीहरूको वैशाख १५ सम्म अधिवेशन सम्पन्न गर्ने, सदस्यता नवीकरण र अनलाइन अभिलेखीकरणलाई अगाडि बढाउने सचिवालयले निर्णय गरेको छ ।

यस्तै, पार्टी गतिविधिविरुद्ध लागेको भन्दै एमाले प्रदेश सल्लाहकार गोविन्द कुँवरलाई कारबाही गर्न सचिवालय बैठकले केन्द्रीय कमिटीलाई सिफारिस गर्ने निर्णय गरेको छ ।