
मकवानपुर, २५ चैत । मकवानपुरको मनहरी गाउँपालिका–९ खरङ्गास्थित पूर्वपश्चिम राजमार्गमा बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार, आज बिहान करिब २ः४० बजे काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको बा.प्र.०१–००६ख. ६७१६ नम्बरको गाडी सडकमा रोकिएको थियो । सोही बसमा सवार उदयपुर त्रियुगा नगरपालिका–२ संगमटोल निवासी ५८ वर्षीय जितबहादुर प्रधान शौचालय जानका लागि सडक पार गर्ने क्रममा सोही दिशाबाट आइरहेको ना.८ ख. १८०९ नम्बरको बसले ठक्कर दिएको थियो ।
दुर्घटनामा प्रधानको टाउको, छाती र दाहिने खुट्टामा गम्भीर चोट लागेको थियो । खबर पाउनासाथ इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी नायब निरीक्षक अर्जुनप्रसाद देवकोटाको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगी घाइतेलाई उद्धार गरेर हेटौंडा अस्पताल पठाएको थियो ।
उपचारको क्रममा बिहान ३ः२५ बजे चिकित्सकले प्रधानलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न बस इलाका प्रहरी कार्यालय मनहरीको नियन्त्रणमा रहेको छ भने बसका चालक धादिङ सिद्धलेक गाउँपालिका–३ निवासी २६ वर्षीय मोहन थापा मगर जिल्ला प्रहरी कार्यालय मकवानपुरको नियन्त्रणमा रहेको पनि प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया