३१ असार २०८३, बुधबार

महासचिव पोखरेलको प्रश्न– प्रचण्डले शिक्षकहरुलाई आन्दोलन नछोड्न भन्नुको अन्तर्य के होला ?

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ चैत । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षकहरूलाई आन्दोलन नछोड्न उर्दी जारी गरेको भन्दै आपत्ति जनाएका छन् ।

आइतबार प्रचण्डले माग पूरा नहुँदासम्म आन्दोलन फिर्ता नलिन शिक्षकहरूलाई उक्साएको बताउँदै महासचिव पोखरेलले कानुन निर्माणका लागि विधि र प्रक्रिया आवश्यक पर्ने कुरा नबिर्सन आग्रह गरे । पटकपटक प्रधानमन्त्री भएको प्रचण्डलाई यो कुरा थाहा नहुने कुरै नहुने उनको धारणा छ । ‘के सडकबाट विधि र प्रक्रिया बिनै कानुन निर्माण गर्न सम्भव छ र ?’, उनको प्रश्न छ ।

विगतमा शिक्षकसँग सम्झौता गरेर त्यसको कार्यान्वयनमा उदासीनता देखाउने प्रचण्ड नेतृत्वकै सरकार भएको उनले स्मरण गराए । ‘उहाँ प्रधानमन्त्री भएको समयमा सम्झौता अनुसार विधेयकमा नै सुधार गरेर प्रस्तुत गरेको भए १ हजार ८ सय भन्दाबढी संशोधन प्रस्तावको जटिलतामा शिक्षा समिति पर्ने थिएन ।

संविधान कार्यान्वयनसँग सम्बन्धित विधेयक पास नभएको कुरामा सत्ता पक्षले चिन्ता प्रकट गर्दै यतिबेला संयन्त्र गठन गरेर काम थालेको महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत स्मरण गराएका छन् । ‘सत्तापक्षले संयन्त्र बनाएर छोटो प्रक्रिया अवलम्बन गरेरै हिउँदे अधिवेशनबाट विधेयक पारित गर्न प्रयास गरेको थियो, उक्त प्रयासलाई माओवादीले समेत सहयोग गरेको भए शिक्षकहरू सडकमा आउनुपर्ने अवस्था नै रहँदैनथ्यो’, उनले लेखेका छन् ।

माओवादी नेतृत्वको कारणले समेत संसदीय समितिले उपसमिति गठन गर्न तीन महिनाभन्दा बढी समय लगाएको उनले स्मरण गराएका छन् । ‘उपसमिति गठन भएर छलफल समेत सुरु नभएको अवस्थामा विधेयक पास गर्ने बाटो प्रचण्डजी देखेको भए प्रस्ताव राख्नु उचित हुन्थ्यो’, महासचिव पोखरेलले लेखेका छन् ।

हिउँदे अधिवेशन अन्त्य भएको र विधेयक विचाराधीन रहेको अवस्थामा शिक्षक नेताहरूले माग गरे झैँ अध्यादेश जारी गर्न मिल्ने अवस्था नरहेको उनले स्पष्ट पारे । ‘प्रमुख दलहरूको सहयोग रहने हो भने बजेट अधिवेशन अगावै सहमति जुटाएर बजेट अधिवेशनको सुरुमै कानुन जारी गर्न सकिन्छ, त्यसका लागि सत्तापक्ष तयारै देखिन्छ’, पोखरेलले भने ।

प्रचण्डले शिक्षकलाई उक्साएर हलो अड्काएर गोरु कुट्ने काम गरेका उनको धारणा छ । ‘यस्तो अवस्था रहँदा रहँदै प्रचण्डजीले समाधानको प्रस्ताव नराखी शिक्षकहरूलाई आन्दोलन नछोड्न भनेर भन्नुको अन्तर्य के होला ? कतै हलो अड्काएर गोरु चुट्ने त होइन ?’, महासचिव पोखरेलले भने ।