
काठमाडौं, २३ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा ज्ञान फैलाउन नेपाली पूर्वज अगाडि रहेको बताएका छन् ।
शनिबार ‘एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ कार्यक्रममा बोल्दै उनले कुनै समयमा हाम्रो समाजका पूर्वज हरेक कुरामा अगाडि भएकाले हामी चाँडो विकासका कुराहरु सिक्न सक्ने बताएका हुन् ।
उनले भने, ‘विश्वमा ज्ञान फैलाउन नेपाली पूर्वज सबैभन्दा अगाडि थिए । हाम्रो विकासलाई रोक्ने काम भएको थियो । हजुरबाका हजुरबाले त्यही गरे । हामीले पनि त्यही गर्नुपर्छ भन्ने भएपछि कसरी विकास हुन्छ ?, तर पुर्खाको जिन हामीसँग छ । हामी चाँडो सिक्न सक्छौं । विकासका कुराहरुमा छिटो सिक्ने सामथ्र्य छ । नेपालीहरु आमरुपमा इमान्दार र परिश्रमिक छन् भनेर दुनियाँले चिनेको छ अहिले ।’
साथै उनले समाजमा नकारात्मक पक्षहरु पनि रहेको बताए । उनले हेर्ने, खोज्ने भनेको नकारात्मकता नभइ हामीले खोज्ने भनेको सकरात्मक भएको धारणा राखे । उनले भने, ‘समाजभित्र केही निराश नहुनुपर्ने कुराहरु छन् भने केही कमीकमजोरी, नकारात्मक पक्षहरु पनि छन् । तर हामीले हेर्ने, खोज्ने भनेको नकरात्मकता होइन हामीले खोज्ने भनेको सकरात्मकता हो । हामीले हेर्ने भनेको संभावनाहरु हो । यसरी हेर्दाखरी हाम्रो भूगोल, प्रकृति जस्तो छ । सुन्दरमात्रै होइन प्राकृतिक, खनिजका हिसावले अत्यन्तै सम्पन्न र धनी छ ।’
यसैगरी ओलीले कामै लगाउनका लागि भएपनि नेपालीलाई बाहिरी देशहरुले प्राथमिकता दिने गरेको बताए । उनले अहिले ६० प्रतिशत सक्रिय जनसंख्या र ४० प्रतिशत युवा जनसंख्या भएकाले युवा जनसंख्याको लागि सर्तक रहेनौं भने नरहन सक्ने स्पष्ट पारे ।








प्रतिक्रिया