२३ असार २०८३, मंगलबार

रास्वपा नेता कार्यकर्तालाई एमाले महासचिवको प्रश्न– आफूलाई परेपछि मात्रै सुधार खोज्ने ?

2.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ चैत । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले कानुन सबैको लागि बराबर हुने बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा अदालतले थुनामा राख्ने आदेश दिएपछि शुक्रबार राति लामिछानेलाई प्रहरी घरमा नै गएर पक्राउ पुर्जी काटेको विषयलाई लिएर रास्वपाका नेताहरूले षडयन्त्र भएको लगायतका टिप्पणी गरेपछि महासचिव पोखरेलले प्रहरीको पक्राउ पुर्जी काट्ने रीति थिति लामिछाने गृहमन्त्री हुँदा पनि त्यस्तै भएको बताएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै महासचिव पोखरेलले गृहमन्त्री भइसकेका लामिछाने र रास्वपा नेताहरू यस विषयमा जानकार नै भएका उल्लेख गरे । आफूलाई पर्दा मात्र सुधारको खोजी गर्नुको कुनै अर्थ नहुने महासचिव पोखरेलले स्पष्ट पारे ।

‘प्रहरीको पुर्जी काट्ने ‘रीति र थिति’ रविजी गृह मन्त्री हुँदाको अवस्थामा के थियो भन्ने रास्वपाका नेताहरूलाई थाहा नहुने कुरै भएन, तर पनि सुधारको खोजी यस्तै बेलामा हुने त हो नि !?’, महासचिव पोखरेलले लेखेका छन् ।

रास्वपा सभापति रवि लामिछानेलाई बुटवलको सुप्रिम सहकारी ठगीको आरोपमा उच्च अदालतले थुनामा राखेर कारबाही अघि बढाउन शुक्रबार आदेश दिएको थियो । यसअघि जिल्ला अदालतले धरौटीमा छाड्ने गरी दिएको आदेशलाई उल्टाउँदै उच्च अदालतले थुनामा राखेर कारबाही अघि बढाउन आदेश दिए लगत्तै शुक्रबार साँझ लामिछानेलाई प्रहरीले बुढानीलकण्ठस्थित उनको घरमा नै गएर पक्राउ गरेको हो ।