
काठमाडौं, २२ चैत । राष्ट्रिय जनमोर्चाले गणतन्त्र र राष्ट्रियताको रक्षा तथा सङ्घीयताका विषयमा पार्टीको धारणा स्थापित गराउन यही चैत २४ गतेदेखि काठमाडौं केन्द्रित साताव्यापी अभियान सञ्चालन गर्ने भएको छ ।
पार्टीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्र र राष्ट्रियताको रक्षाको पक्षमा अभियान सञ्चालन हुने जानकारी दिए । काठमाडौंको तीनकुनेमा यही चैत १५ गते भएको घटनाले मुलुकमा प्रतिगमनको खतरा देखापरेका कारण राजधानी केन्द्रित पार्टी सचेतनासहितका कार्यक्रम गर्न लागेको उनले स्पष्ट पारे । त्यस अवसरमा पार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सम्पूर्ण गणतन्त्रवादी शक्तिहरुबीच प्रतिगमनविरुद्ध सहकार्यको आवश्यकतामा हाम्रो पार्टीले जोड दिन्छ ।’
पार्टीका उपाध्यक्ष एवं संविधानसभा सदस्य दुर्गा पौडेलले सरकार र संसद्को सङ्ख्यामा भएको वृद्धिले खर्चको भार बढेर आर्थिक रुपमा मुलुक सञ्चालनमा चुनौती परिरहेको तर्क गरिन् । उनले भनिन्, ‘जिल्ला र केन्द्रका बीचमा समन्वयका लागि प्रदेशस्तरको प्रशासनिक संरचनाको निर्माणमा हामीले जोड दिन्छौँ ।’ पार्टीले नेपालको राष्ट्रियताका विरुद्धमा भइरहेको विभिन्न खाले षडयन्त्रका विरुद्ध सङ्घर्ष गरेर नै मुलुकको राष्ट्रियताको रक्षा गर्दै आएको जनाएको छ ।








प्रतिक्रिया