
काठमाडौं, २२ चैत । राज्य व्यवस्था तथा सुशासन समितिले चैत १५ गते भएको राजावादी प्रदर्शनलाई लिएर पाँच बुँदे निर्देशन दिएको छ ।
घटनाका बारेमा गृहमन्त्री रमेश लेखकलाई समितिमा छलफल गरेको समितिले आज ५ बुँदे निर्देशन दिएको हो ।
१.काठमाण्डौको तीनकुनेमा यही चैत्र १५ गते शुक्रबारको दिन राजावादीहरुले विरोध प्रदर्शनको नाममा घटाएको हिंसात्मक घटनाको भर्त्सना गर्दै त्यसप्रति राज्य व्यवस्था तथा सुशासन समितिको यो बैठक खेद प्रकत गर्दछ । उक्त घटनाका दोषीहरु उपर आवश्यक छानविन गरी कानूनी कारवाही अघि बढाउन नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र गृह मन्त्रालयलाई यो बैठक निर्देशन गर्दछ ।
२.काठमाण्डौंको तीनकुने र आसपासको स्थानमा अब आइन्दा कुनैपनि प्रकारका सभा, विरोध प्रदर्शन, धर्ना आदी कार्यक्रम गर्न अनुमति नदिन नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र गृह मन्त्रालयलाई निर्देशन गर्दछ ।
३.चैत्र १५ गते घटेको उक्त घटनाक्रमको सत्य तथ्य छानविन गरी प्रत्यक्ष र अप्रत्यक्ष रुपमा त्यसमा संलग्न व्यक्तिहरुमाथि आवश्यक छानविन र कानूनी कार्यवाही अघि बढाउन नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र गृह मन्त्रालयलाई निर्देशन गर्दछ ।
४.आगामी दिनमा यस्ता खालका हिंसात्मक घटनाहरु दोहोरिनवाट रोक्न एवम् संविधान, कानून एवम् संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्थाको रक्षा गर्नको लागि गम्भीरताका साथ अघि वढ्न नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र गृह मन्त्रालयलाई निर्देशन गर्दछ ।
५.नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई साधन स्रोत सम्पन्न बनाउन आवश्यक बजेटको लागि व्यवस्थापन गर्न नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र गृह मन्त्रालयलाई निर्देशन गर्दछ ।








प्रतिक्रिया