१६ असार २०८३, मंगलबार

समाजवादी मोर्चालाई गृहमन्त्रीको धन्यवाद, राजावादीहरु ‘उच्छृंखल र अमानवीय’

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ चैत । गृहमन्त्री रमेश लेखकले शन्तिपूर्ण प्रदर्शन गरेको भन्दै समाजवादी मोर्चालाई धन्यवाद दिएका छन् ।

गत चैत १५ गते काठमाडौंमा आयोजित प्रदर्शनबारे जवाफ दिन शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले मोर्चाको शन्तिपूर्ण प्रदर्शन भए पनि राजावादीको प्रदर्शनलाई उनले ‘हिंसात्मक, अमानवीय, अमर्यादित र उच्छृंखल’को संज्ञा दिएका हुन् ।

उनले भने, ‘त्यो कार्यक्रममा आलोचनाका कुराहरू पनि भए, आफ्ना विचारका अभिव्यक्ति पनि भए । लोकतान्त्रिक मूल्य र मान्यताअनुरूप अत्यन्तै सभ्य र भव्य ढंगले कार्यक्रम सम्पन्न भयो । त्यसकारण समाजवादी मोर्चाका कार्यक्रम आयोजक साथीहरूलाई म धन्यवाद दिन चाहन्छु । साथै राजावादीहरुको प्रदर्शन नेपालको वर्तमान संविधानलाई उल्ट्याउने, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, समावेशी शासन व्यवस्था र समावेशी चरित्रको हामीले अवलम्बन गरेको राज्यव्यवस्था, राज्य प्रबन्ध र व्यवस्थालाई समाप्त गर्ने उद्देश्यबाट प्रेरित थियो ।’ साथै, उनले चैत १५ गते जस्तो आपराधिक गतिविधिमा सुरक्षा निकाय संयम नभएको भए अझ ठूलो क्षति हुने बताए । उनले अराजकता फैलाएर संविधान समाप्त पार्ने गतिविधि भएकोमा आफू स्पष्ट रहेको बताए ।

उनले भने, ‘धवल शम्शेर राणासहितलाई नियन्त्रणमा लिइएको छ । अनुसन्धानको क्रम जारी छ, संलग्न रहेकाको खोजी कार्य जारी रहेको छ । संयमता नअपनाएको भए अझ धेरै क्षति हुने थियो । जसरी आपराधिक गतिविधि भए, त्यसरी नै सुरक्षा निकाय संयम नभएको भए अझ ठूलो क्षति हुने थियो । अराजकता फैलाएर संविधान समाप्त पार्ने गतिविधि भएका थिए भन्नेमा स्पष्ट छु । नजिकै एयरपोर्ट छ, त्यहाँ आगजनी गर्ने काम भएको छ, नजिकै विदेशी जहाज छन्, त्यत्रो ठूलो तेलको भण्डारण छ । नजिकै प्रज्वलनशील पदार्थ थियो । यदि त्यहाँ आगो टिपेको भए काठमाडौंको अवस्था भयावह हुने थियो । त्यसरी नै लोकतन्त्रलाई जीवन्त राख्न सक्छौँ ?’

पूर्वराजा ज्ञानेन्द्र शाहसँग बयान लिनुपर्ने

यसैगरी, नेकपा (एमाले)का सांसद रघुजी पन्तले चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनबारे न्यायिक छानबिन आयोग गठन गर्न नहुने तर्क गरे । उनले समितिको बैठकमा पूर्वराजा ज्ञानेन्द्र शाहसँग भने बयान लिनुपर्ने बताए ।

उनले भने, ‘आपराधिक घटनामा सरकारले न्यायिक आयोग गठन गर्न हुँदैन । शान्तिपूर्ण आन्दोलनमा क्षति भए आयोग गठन हुने हो, श्री ५ भनेर सूचना जारी गर्न लगाउने र गर्नेलाई किन कारबाही नगरेको ? नागरिकको अधिकार ज्ञानेन्द्रलाई छ, गाडी ल्याउँदा दुर्गा प्रसाईंलाई किन नपक्रिएको । यस घटनामा ज्ञानेन्द्र शाहको भूमिका भए बयान किन नलिएको ?’

यसैगरी, सोही समितिमा नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका मुख्य योजनाकार को हो ? भन्दै प्रश्न गरे । उनले समयमै सुरक्षाकर्मी पुगेको भए आगलागी हुँदैनथ्यो भन्ने छ किन सुरक्षाकर्मी पुगेन ? भन्दै गृहमन्त्रीलाई प्रश्न गरे ।

उनले भने, ‘तीनकुने नै किन ठाउँ दिइयो ? मुख्य योजनाकार को हो ? कसले जिम्मेवारी लिने ? राजावादी भनेर सबैलाई लगाएर हुँदैन, समाजवादी मोर्चाको एउटा घटकको कार्यालयमा समयमै सुरक्षाकर्मी पुगेको भए आगलागी हुँदैनथ्यो भन्ने छ । किन सुरक्षाकर्मी पुगेन ?, दुर्गा प्रसाईंलाई आफ्नै अघि हुँदा नसमाउने, अनि पक्राउ गर्ने योजना ? छानबिन आयोग बन्छ कि बन्दैन ?’

राजतन्त्रलाई ‘भूत’ भन्ने गरिएकोप्रति आपत्ति

साथै, समितिको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद बुद्धिमान तामाङले राजवादी आन्दोलनको कमान्डर दुर्गा प्रसाईंलाई तोकेर गलत गरिएको बताए । बैठकमा सांसद तामाङले राजतन्त्रलाई ‘भूत’ भन्ने गरिएकोप्रति आपत्तिसमेत जनाए ।

उनले भने, ‘राजालाई किन भूत देख्नुहुन्छ ? मेरो छोराछोरीलाई पनि म नमरेसम्म विरोध नगर भन्ने मान्छे हो । दुर्गा प्रसााईंलाई कमान्डर तोक्ने गतल कुरा हो, हुन सक्दैन, २०१७ सालको जस्तो राजतन्त्रको कुरा बोल्ने बौलाहा हो ।’

सांसद तामाङले आफ्नो पार्टीका वरिष्ठ उपाध्यक्ष र महामन्त्रीलाई थुनामा राखिएकोमा आपत्तिसमेत जनाए । उनले भने, ‘गोली कति चल्यो ? वरिष्ठ उपाध्यक्ष र महमन्त्रीलगायत थुनामा छन् । माननीयजस्तो मान्छेलाई हतकडी लगाएर लैजान मिल्छ ? रवीन्द्र मिश्रजस्तो मान्छे भाग्छ ?’