
काठमाडौं, १५ फागुन । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नकारात्मकताको प्रचारबाट समृद्ध समाज निर्माण हुन नसक्ने बताएका छन् ।
सकारात्मक र समृद्ध समाजको निर्माणका लागि सकारात्मक सन्देश र विचार सम्प्रेशित तथा प्रचार हुनु पर्ने उनले बताएका हुन् । सगरमाथा प्रतिष्ठान नेपालको २४ औ वार्षिक उत्सवलाई पर्यटन वोर्डको सभाहलमा संवोधन गर्दै उनले असल समाजको निर्माणका लागि सत्चरीत्र र सुसंस्कार नयाँ पुस्तामा हस्तान्तरण गर्नु पर्नेमा समेत जोड दिए ।
समाजवाद स्थापनाका लागि लोककल्याणकारी राज्य निर्माण हुनु पर्ने भन्दै संविधानलेनै व्यवस्था गरेको समाजवादबाट कोहि पनि भ्रममा पर्न नहुने उल्लेख गरेका छन् । मन्त्री दहालले भने, ‘समाजवाद भनेको कुनै एक दल वा दर्शनले शासन गर्ने व्यवस्था हो कि भनेर कसैले पनि भ्रम पाल्न जरुरी छैन, यो त लोककल्याणकारी राज्य व्यवस्था निर्माण गर्ने कुरा हो ।’
कार्यक्रममा शिक्षा, संगीत, स्वास्थ्य, दर्शन, पर्यटन, कृषि लगायत विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउनेहरुलाई सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष नरबहादुर लिम्बूले संस्था मार्फत आफन्तबिहीन बालबालिकाहरुको संरक्षण एवम् शिक्षा प्रदान हुँदै आएको जानकारी दिए ।
संस्थाका सल्लाहकार डा. केबी गुरुङले स्वागत मन्तव्य राखेको कार्यक्रममा बागमती प्रदेशकी सामाजिक विकासमन्त्री हरिप्रभा खड्गी, पूर्वप्रशासक शंकरप्रसाद कोईराला, पर्यटन उद्यमी कर्ण शाक्य लगायतले सकारात्मक समाज निर्माणका लागि सकारात्मक शिक्षा हुनु पर्ने बताए । उपराष्ट्रपति रामसहायप्रसाद यादवले कार्यक्रमको उद्घाटन गरेका हुन् ।









प्रतिक्रिया