
काठमार्डौं, २० पुस । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सत्तामा नरहँदा लचिलो व्यक्तित्व देखाउने तर सत्तामा रहँदा फरक व्यवहार गर्ने भन्ने भीम रावलको आरोप यथार्थभन्दा टाढा रहेको छ । यी कुरा नेपाली पक्षले मात्र होइन, भारतीय राजनीतिक वृत्त र मिडियाले समेत पुष्टि गरिसकेका छन् ।
स्वाधीनता, स्वाभिमान र राष्ट्रहितको रक्षाजस्ता विषयहरू सबैलाई मनपर्ने शब्दावली हुन् । रावलले बुधबारको पत्रकार सम्मेलनमा यी शब्दहरूको बारम्बार प्रयोग गरे । तर, रावल २०६६ सालमा गृहमन्त्री हुँदा र २०७२ मा रक्षामन्त्री हुँदा देशहितका पक्षमा के के निर्णय गरे ? कसैलाई थाहा छ ? ओलीकै नेतृत्वमा महत्वपूर्ण मन्त्रालयको जिम्मा लिइरहँदा राष्ट्रहितमा के के निर्णय गर्न खोज्दा ओलीले मानेनन् ? चिच्चाई चिच्चाई पत्रकार सम्मेलनमा उफ्रेका रावलले यो प्रश्न उठ्न सक्दछ भनेर उच्चारण गर्न सकेका छैनन् । परराष्ट्र मामिलामा रावलका अधिकांश अभिव्यक्ति नाटकीय प्रकृतिका छन् अर्थात रावलका धेरैजसो अभिव्यक्तिहरू नाटकीय देखिएको चर्चा भइरहेको छ ।
विशेष उल्लेखनीय कुरा त के छ भने, सीके राउतलाई विखण्डनवादबाट छुट्टाएर शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउने ओलीको साहसिक कदमलाई समेत रावलले नकारात्मक रूपमा प्रस्तुत गर्नुले उनको दृष्टिकोणमा समस्या छ ।
रावलले लगाएका आरोपको जवाफ ओलीले दिनु आवश्यक छैन् । सत्तरी वर्षको उमेर नजिक पुगिसकेका रावलले एमाले महाधिवेशनमा आफूलाई साहसिक नेताको रूपमा प्रस्तुत गर्न खोजे, राष्ट्रवादको आवरणमा भारतलाई खुसी पार्न ओलीसँग टक्कर लिएका थिए । सत्तासँग नझुकेको भन्ने गौरव बोक्न खोज्दा कुण्ठाको भारले थिचिएको रावलका तर्कहीन अभिव्यक्तिहरूले प्रष्ट पार्छन् ।
पत्रकार सम्मेलनमा सहभागी मिडियाकर्मीलाई रावलले एमाले सिध्याउने दर्जनौँ खजना बोकेका छन् कि भन्ने लागेको थियो । तर, रावलका तर्कहीन अभिव्यक्तिले उनैलाई भारी पर्ने देखियो । उनले लगाएका साच्चैका आरोप ओलीसहित समकालिन नेतृत्वले जवाफ दिनु त पर्ला तर हुँदै नभएका आरोपले लाग्नेलाई भन्दा लगाउनेलाई भारी पर्न सक्छ ।
राष्ट्रहितको विषयमा ओलीजस्तो स्वाभिमानी, अनुभवी नेतासँग आमनेसामने उभिएर तथ्यपरक बहस गर्ने क्षमता रावलमा देखिँदैन । उनी मूलतः भावनात्मक र लोकप्रिय राष्ट्रवादी विचारधाराबाट प्रभावित छन् । यो प्रवृत्ति नेपालको वामपन्थी र कम्युनिष्ट विचारधाराको एउटा विशेषता पनि मान्न सकिन्छ ।
एमसीसी र बीआरआईजस्ता महत्वपूर्ण विषयमा ओलीले लिएका निर्णयहरू राष्ट्रहितमा आधारित छन् । ओलीले कहिल्यै पनि राष्ट्रहित विपरीत र अन्तर्राष्ट्रिय सम्बन्धलाई बिगार्ने काम गरेका छैनन् । नेपालमाथि नाकाबन्दी हुन नदिने र पश्चिमी मुलुकहरूसँग सहयोग र सद्भावको सम्बन्ध कायम राख्ने ओलीको नीति रहेको छ।
राज्य सञ्चालनको गम्भीर विषयलाई सतही ढंगले हेर्ने र सानातिना कुराहरूलाई अनावश्यक रूपमा उठाउने रावलको प्रवृत्ति राजनीतिक नेतृत्वको लागि उपयुक्त देखिँदैन ।









प्रतिक्रिया