काठमाडौं । नेपाली क्रिकेट टोलीले अन्तर्राष्ट्रिय टी–२० क्रिकेटको नयाँ विश्व वरियतामा एक स्थान सुधार गर्दै १५औँ स्थान कब्जा गरेको छ। आईसीसीले सार्वजनिक गरेको पछिल्लो वरियताअनुसार नेपालले स्कटल्यान्डलाई पछि पार्दै माथिल्लो स्थानमा उक्लिएको हो।
नयाँ सूचीमा स्कटल्यान्ड १६औँ स्थानमा झरेको छ। एसोसिएट राष्ट्रहरूमध्ये अब नेपालभन्दा अगाडि केवल अमेरिका रनेदरल्यान्ड्स मात्र रहेका छन्।
टी–२० वरियताको शीर्ष स्थानमा भारत कायम रहँदा शीर्ष १२ स्थानमा टेस्ट खेल्ने राष्ट्रहरूको वर्चस्व छ।
नेपालपछि क्रमशः स्कटल्यान्ड, नामिबिया, यूएई, ओमान र क्यानाडा रहेका छन्। पछिल्ला महिनाहरूमा नेपाली टोलीले टी–२० क्रिकेटमा लगातार प्रभावशाली प्रदर्शन गर्दै आएको छ। विशेषगरी हालै सम्पन्न एसियन गेम्स छनोट प्रतियोगितामा उपाधि जित्नुका साथै पछिल्ला सात खेलमध्ये छ खेलमा जित निकाल्नु नेपालको वरियता सुधारको प्रमुख आधार बनेको छ।
लगातारको सफल प्रदर्शनसँगै नेपाली टोलीले अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो उपस्थिति अझ बलियो बनाउँदै लगेको देखिएको छ।








प्रतिक्रिया