६ श्रावण २०८३, बुधबार

‘भीम रावलमाथिको कारबाही जायज’

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ पुस । नेकपा (एमाले)को सचिवालय बैठकले भीम रावललाई पार्टीको साधारण सदस्यबाट निष्कासन गर्ने गरी गरेको निर्णय अहिले सार्वजनिक चासोको विषय बनेको छ ।

एमालेले रावललाई कारबाही गर्नु ठिक थियो वा गलत भन्ने बहस निक्कै चर्किएको छ । सामाजिक सञ्जालमा रावललाई कारबाही गर्नु गलत थियो भन्नेहरूको मत पनि ठूलै छ । एमालेले रावललाई कारबाही गर्नु ठिक थियो वा गलत भन्नु अघि पहिला यी तथ्य हेर्नुपर्छ ।

एमालेको महाधिवेशनमा भीम रावलले अध्यक्ष पदमा केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरे । पार्टी अध्यक्ष ओलीले उपाध्यक्षमा रहेर काम गर्न सुझाएका थिए । उनको आग्रह ठाडै अस्वीकार गरी रावलले ‘म तपाईँसँगै प्रतिस्पर्धा गर्ने हो’ भन्दै चुनावी प्रक्रियामा होमिए । चुनाव भयो, रावल केपी ओलीभन्दा ९१ प्रतिशतभन्दा कम मत पाएर पराजित भए ।

निर्वाचन अघि नै पार्टीको विधान अधिवेशन भएको थियो । महाधिवेशन हलमा पनि विधानको विषयमा केही हेरफेर भयो । सर्वसम्मतिमा विधान पारित भयो । चुनाव हारेपछि रावलले त्यही विधान मान्दिन भन्ने घोषणा गरे ।

एमाले विधानमा अध्यक्षसहित पदाधिकारी स्वतः केन्द्रीय सदस्यको उम्मेदवार पनि हुने व्यवस्था थियो, उनको पनि कायम रह्यो । प्रतिनिधिले अध्यक्षमा हराए तर केन्द्रीय सदस्यमा जिताए ।

रावलले प्रतिनिधिको भावना कुल्चँदै विधान नमानेर केन्द्रीय सदस्यमा आफूले उम्मेदवारी नै दिएको छैन, म केन्द्रीय सदस्य पद स्वीकार्दिन भन्दै सार्वजनिक घोषणा गरेका थिए । रावलले प्रतिनिधिहरूको मतको अपमान गरे । त्यो घोषणाले उनी एमाले विधानअनुसार स्वतः सल्लाहकार परिषद्को सदस्य रहने व्यवस्थातिर गयो । उनले सल्लाहकार परिषद् सदस्य पनि अस्वीकार गरे । अर्थात् रावलले म एमालेमा बस्दिन, एमालेको विधान मान्दिन भन्ने सार्वजनिक घोषणा गरे ।

रावलमा चेत आउँछ कि भनेर नेतृत्व लामो समयसम्म पर्ख र हेरको अवस्थामा रह्यो । तर उनी सच्चिने र अनुशासनमा बस्ने होइन, मलाई कसले छुन सक्छ भन्दै सार्वजनिक रूपमा पार्टी विरुद्ध अभिव्यक्ति दिँदै हिँडे । नेतृत्वलाई खुइल्याउँदै हिँडे । त्यतिले मात्र पुगेन उनी नयाँ पार्टी बनाउने अभियानमा नै लागे । एमालेमा छु भन्ने एमालेको विधान, विधि, पद्धति नमान्ने, पार्टीको निर्णय नटेर्ने, पार्टी सदस्यहरूको अभिमतलाई लत्त्याउने, नेतृत्वको खोइरो खन्ने रावल अन्ततः नयाँ पार्टी खोल्ने अभियानमा लागे । यो सूचना नेतृत्वलाई थियो । रावललाई पार्टीबाट नहटाउँदा एमाले फुटाएर नयाँ पार्टी बनाएँ भन्दै डङ्का पिट्ने अवस्था थियो । त्यही कारण सदस्यबाट समेत निष्कासन गर्ने निर्णय पार्टीले लियो ।

भीम रावल एमालेबाट सुविधा लिने त्यस्तो व्यक्ति हो जसको जति सुविधा अन्य कुनै नेताहरूले सायदै लिएका छन् । भीम रावलले देश र पार्टीलाई योगदान नगरेको होइन तर उनीमाथि पार्टीको योगदान पनि कम्ताको छैन । उनलाई पार्टीले काँधमा नै राखेर लगानी गरेको छ ।

२०४६ सालमा अन्तरिम सरकारमा झलनाथ खनाल मन्त्री हुँदा रावल उनको स्वकीय सल्लाहकार थिए । २०५२ सालमा उनले एमालेको तर्फबाट पर्यटन राज्यमन्त्री बने । २०५५ सालमा रावल पुनः पार्टीको तर्फबाट पर्यटन मन्त्री बने ।

रावललाई २०६२ मा पार्टीले शिक्षा मन्त्री सिफारिस गर्‍यो तर खोजेको मन्त्रालय नपाएको भन्दै उनले सरकारमा नै जान मानेनन् । नेतृत्वले गरेको लाडप्यारले रावल मात्तिए ।

रावललाई २०६४ मा भएको संविधान सभा निर्वाचनमा पार्टी नेतृत्वले थप माया गरेर समानुपातिक सभासद् बनायो । रावललाई २०६६ मा गृहमन्त्री जस्तो जिम्मेवार पदमा पार्टीले पुर्‍यायो । २०७२ सालमा त उनलाई पार्टीले त्यहाँ भन्दा माथि उपप्रधानमन्त्रीसहित रक्षामन्त्री बनायो ।

पार्टीको बुटवल महाधिवेशनमा उपाध्यक्ष हारे पनि केन्द्रीय सदस्य जितेका रावलले त्यस पदको शपथ लिएनन् । त्यस समयमा उनी कुनै पार्टी काममा पनि जोडिएनन् । तर २०६६ सालमा माधव नेपाल नेतृत्वको सरकारको गृहमन्त्री बन्न पाउने भएपछि उनले हतार हतार केन्द्रीय सदस्य पदको शपथ लिएर गृहमन्त्री बन्न दौरा सुरुवाला लगाए ।

रावले एमालेले तत्कालीन सभामुख अग्नि सापकोटाको भूमिकालाई लिएर संसद् अवरोध गरिरहेको बेला पार्टीको ह्विप उलङ्घन गरे । उनले पार्टीको आदेश उल्लङ्घन गर्दै एमसिसी पारित गर्ने संसद् बैठक भाग लिए । त्यहाँ पनि रावलले पार्टीको निर्देशन मानेनन्, पार्टी नेतृत्वलाई टेरेनन् । आफ्नो अराजकता प्रदर्शन गरे ।

नेकपा विभाजन पछि एमाले संकटमा थियो । नेकपाबाट माओवादी छुट्टिएर गए लगत्तै माधव नेपालले पार्टी विभाजन गरे । पार्टी जोगाउन माधव नेपाको पक्षमा रहेका कतिपय नेताहरूसँग छलफल चल्यो । १० बुँदे सहमति भयो । त्यस सहमति अन्य नेताहरूले माने । त्यसलाई स्विकारे उनीहरू पार्टी काममा जोडिए र तर रावल सडकमा छाडा छाडे जस्तै गरी डुक्रिँदै र खोस्रिँदै हिँडे । पाटीलाई लाभ हुने होइन हानी हुने गतिविधि गदै हिँडे ।

पार्टीमाथि चौतर्फी घेराबन्दी भएको बेला देशमा स्थानीय, प्रदेश र संघको निर्वाचन भयो । त्यस निर्वाचनमा पनि रावलको गतिविधि पार्टीको पक्षमा भएन । उनको गतिविधि विपक्षीलाई सहयोग पुग्ने खालको नै भयो । परिणामस्वरूप उनकै नगरपालिका साँफेबगरमासमेत गठबन्धनबाट एकीकृत समाजवादीले चुनाव जित्यो । भीम रावलकै गाउँमा एमालेले चुनाव हार्‍यो ।

रावल चर्चामा आउनको लागि अनेक खालका अभिव्यक्ति दिँदै हिँडिरहे । उनी आफू बाहेक सबैलाई राष्ट्रघाती भन्दै हिँड्न लागे । सबैभन्दा बढी राष्ट्रघाती आफ्नै पार्टी नेतृत्व भएको अभिव्यक्त दिए । मनलाग्दी बोल्ने, पार्टी हितविरुद्ध गतिविधि गर्ने रावलको दैनिकी नै बन्यो । उनले पार्टी भित्रै छु भन्दै पार्टी र पार्टी नेतृत्वविरुद्ध लगातार विष बमन गरिरहे ।

जुन नेता पार्टीको काममा लाग्दैन, पार्टीको हितमा बोल्दै, पार्टी नेतृत्वलाई जोगाउने होइन, खुइल्याउने काममा लाग्छ । त्यस्तो व्यक्ति पार्टीमा रहेर पार्टीलाई के फाइदा हुन्छ । अनि त्यस्ता मान्छेलाई कारबाही गर्दा कोही उफ्रिन्छ र सामाजिक सञ्जाल रङग्याउँछ भने त्यो कसरी एमाले कार्यकर्ता हुनसक्छ ? कसरी पार्टीको शुभचिन्तक र पाटीको हित चिताउने व्यक्त हुन्छ ?

यो कुराहरू नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई गाली गर्नेहरूका लागि राम्रै मसला त होला, तर साँचो कुरा के हो भने रावलले म एमाले होइन, एमालेमा रहन्न भनेर पहिलेदेखि नै भन्दै आएका हुन् । म होइन, छैन र रहन्न भन्ने मानिसलाई पार्टीले निष्कासन गर्ने प्रक्रिया मात्र पूरा गरेको हो ।

रावलले विगतमा आफ्नो आदेश नमानेकै भरमा जनसंगठनका पदाधिकारी, केन्द्रीय सदस्य र पार्टीका केन्द्रीय विभागमा रहेका सदस्यहरूलाई अपमानपूर्वक हटाएको कुरा धेरै नेता, कार्यकर्ताले बिर्सिएका छैनन् । उनको शैलीसँग सबै परिचित नै छन् । रावलले कत्लेआम गर्न भनिएका ती नेताहरू आज उनकै पक्षमा उभिनु एमालेको हितको पक्षमा हो कि विपक्षमा ? गम्भीर प्रश्न खडा भएको छ ।

आफूले पाएसम्म भोग गर्ने, आफ्नो अनुकूल हुँदासम्म प्रयोग गर्ने, आफूले नपाउनु बित्तिकै आफैँ बसेको घरमा आगो लगाउने प्रवृत्ति हो भीम रावल प्रवृत्ति । यो कुरा कम्तीमा एमालेजनले बुझ्नै पर्छ । कागले कान लग्यो भन्दैमा आफ्नो कान नछामी कागको पछि पछि दौडनु उचित हुँदैन ।