८ श्रावण २०८३, शुक्रबार

मापसे गरेर सवारी चलाउनेलाई अनौठो सजायः ३० दिन प्रहरी कार्यालयमा झाडु लगाउनु पर्ने

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतको छत्तीसगढ राज्यस्थित जांजगीर–चाम्पा जिल्लाको अदालतले मादक पदार्थ सेवन ९मापसे० गरी सवारी चलाउने एक व्यक्तिलाई अनौठो तथा समाजोपयोगी सजाय सुनाएको छ।

मुख्य न्यायिक मजिस्ट्रेट (सीजेएम) अदालतले ती व्यक्तिलाई १५ हजार भारतीय रुपैयाँ जरिवाना तिर्नुपर्ने र लगातार ३० दिनसम्म सामुदायिक सेवा गर्नुपर्ने आदेश दिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

अदालतको आदेशअनुसार दोषीले आगामी ३० दिनसम्म दैनिक तीन घण्टा जांजगीर कोतवाली प्रहरी कार्यालय परिसरमा झाडु लगाउने, सरसफाइ गर्ने तथा सफाइसम्बन्धी अन्य काम गर्नु पर्नेछ। साथै, मापसे गरेर सवारी चलाउँदा हुने जोखिमबारे सर्वसाधारणलाई सचेत गराउन मुख्य चोकहरूमा उभिएर जनचेतना फैलाउने जिम्मेवारी पनि दिइएको छ।

अनुसन्धानका क्रममा ती व्यक्ति यसअघि पनि दुई पटक मापसे गरेर सवारी चलाएको अवस्थामा पक्राउ परिसकेको खुलेको थियो। पटक–पटक ट्राफिक नियम उल्लङ्घन गरेपछि अदालतले सामान्य जरिवाना वा कारावासभन्दा फरक सुधारात्मक सजाय रोजेको हो।

अदालतले यस निर्णयको उद्देश्य दोषीलाई आफ्नै गल्तीको महसुस गराउनुका साथै समाजमा सडक सुरक्षाप्रति जनचेतना अभिवृद्धि गर्नु रहेको जनाएको छ।

अदालतको यो निर्णय अहिले जांजगीर–चाम्पा जिल्लामा चर्चाको विषय बनेको छ। यसलाई मापसे गरेर सवारी चलाउने प्रवृत्तिविरुद्ध कडा सन्देश दिने र ट्राफिक नियमको पालना गर्न प्रेरित गर्ने कदमका रूपमा हेरिएको छ।

Skip This