३० जेष्ठ २०८३, शनिबार

‘जीवनमा एकपटक पुग्नैपर्ने गन्तव्य हो लाङटाङ’

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-विष्णु गिरी ‘निश्चल’

केही दिनको लामो बिदा भयो कि पदयात्रामा निस्की हाल्ने हाम्रो टिमको बानी थियो, विश्व हेर्न नपाए पनि आफ्नो देश त घुम्नै पर्छ भन्ने सोच सानैदेखि थियो । हुन त विश्वका एक दर्जन बढी देशको भ्रमण गरेको छु तर शहरी क्षेत्रमा मात्रै । आफ्नै देशको मनाङ, मुस्ताङ घुमेपछि भने मलाई कम्तीमा वर्षको एकपटक आफ्नै देशको नयाँ ठाउँ घुम्ने हुटहुटी लाग्थ्यो । त्यसैले लामो बिदा या चार्डपर्वको समयमा कतै घुमौँ भन्ने योजना मनमनै बनाउँदै थिएँ । तिहारको टीका सकिएसँग घरमा एक्लै बसिरहको थिएँ, विवेक भान्जाको फोन आयो, ‘मामा लाङटाङ पदयात्रामा जाने ?’ मैले नजाने केही तयारी छैन भनेँ । भान्जाले केही तयारी चाहिँदैन् जुत्ता लुगा भएभइहाल्छ भने । मैले जुत्ता छैन भनेपछि अहिले पदयात्रालाई लक्षित गरेर गोल्डस्टार कम्पनीले नयाँ जुत्ता बजारमा ल्याएको छ, सस्तो पनि छ त्यो भए हुन्छ भने । राति अबेर भइसकेको थियो । गोल्डस्टारको सोरुममा फोन गरियो, खुल्ला रहेछ त्यसपछि २३०० रुपैयाँमा जुत्ता किनेर इसेवामार्फत रसुवाको स्याफ्रुबेंसीसम्मको बस टिकट काटेर कात्तिक १९ गते बिहान लाङटाङ पदयात्रामा जाने कुरा भयो । घरमा कसैलाई भनेको थिइनँ, घरबाट सजिलै अनुमति पाएपछि अरु के नै चाहियो र ।

विश्व पर्यटन बजारमा लाङटाङ क्षेत्रले बेग्लै पहिचान बनाएको छ । नेपालको पदयात्रा मार्गमा यो तेस्रो पदयात्रा गन्तव्यका रूपमा चिनिएको छ । रसुवा, नुवाकोट र सिन्धुपाल्चोक तीन जिल्लामा फैलिएको लाङटाङ राष्ट्रिय निकुञ्ज २०३२ सालमा स्थापना गरिएको हो । १,७१० वर्ग किमि क्षेत्रमा फैलिएको छ भने ४१० वर्ग किलोमिटर मध्यवर्ती क्षेत्रमा समेटिएको छ । ४६ प्रजातिका स्तनधारी, ३ सय १५ प्रजातिका चरा, ११ प्रजातिका घस्रिने जनावर, ३० प्रजातिका माछा, १० प्रजातिका माकुरा र ५८ प्रजातिका पुतलीलगायत हजारभन्दा बढी प्रजातिका वनस्पति पाइन्छ । विश्वमै दुर्लभ रेडपाण्डा, हिमचितुवा, बँदेल, हिमालयन कालो भालु, घोरल, लंगुर, आसामी बाँदर, सेता बाँदर, झारल, घोरल, कस्तुरी मृगलगायत वन्यजन्तु पाइन्छन् त्यसकारण पनि ति सबैको अवलोकलन वन्यजन्तु र वातावरणबारे जानकारी पाउने उदेश्यले मन प्रफुल्लित भएको थियो ।

हुन त पैदल हिँड्नु भनेको आफैंले आफैंलाई चिन्नु पनि हो । आफ्नै देश, संस्कृति, रहनसहन र भूगोल हेर्न, बुझ्न विवेक भान्जासहित हामी ४ जनाको टोली गाडी धादिङको गल्छी भएर अगाडि बढ्यौँ ।

यात्राको क्रममा बाटो कतै ढलान, कतै कच्ची, कतै पक्की । तन मन सिरिङ्ग हुने बाटो । काठमाडौंबाट हिँडेको करिब ६ घण्टामा धुन्चे (१९६० मि) पुग्यौँ । धुन्चेबाट करिब सवा घन्टामा हामी स्याफ्रुबेंसी (१५०३ मि) पुग्यौँ । पानी परिरहेकाले प्लास्टीकको छाता ओडेर स्याफ्रुबेंसीमा डुनट र चिया खाएर हिँड्यौँ बाटोमा लाङटाङ खोला जलविद्युत आयोजना ले २० मेगावाटको विद्युतको लागि बाटो बनाएको रहेछ मोटरबाटो भएपनि मोटरचाहिँ नचल्ने आयोजनाका गाडीहरु मात्र चल्ने रहेछन् । बास बस्न हामीलाई ‘ब्याम्वो’ पुग्नु थियो, त्यसैले स्याफ्रुबेंसीमा कत्ति पनि अलमल गरेनौँ । भोटेकोशीमाथिको झोलुङ्गे पुल र लाङटाङ खोलाको पुल तरेर अगाडि बढ्यौँ ।

लाङटाङ खोलासँगै बाटो हिँड्छ, बाटोसँगै खोला, हामी उसैलाई पछ्याउँदै, उसकै संगीत सुन्दै हिँड्यौँ र बुद्धमन्त्र लेखिएका लुङता फहराइरहेको पहिरो भन्ने ठाउँमा पुग्यौँ । पहिरोमा जाँदा–आउँदा पदयात्रीहरू तथा सहयोगीहरू सुस्ताउने र चिया खाजा खाना खाने ठाउँ रहेछ । हाइड्रोपावर कटेपछि होटलका आँगन हुँदै हामी चरक्क चर्केको घामसँगै सुनका धर्काधर्की र चाँदीले लेपन गरेका बाटाभरिका ढुंगामा आफ्ना पैताला राख्दै वनैवनको बाटो ब्याम्बो (१९७० मि) पुग्यौँ । यो क्षेत्र रेड पाण्डाको बासस्थान पनि रहेछ । यहाँ तीन वटा होटल थिए शेर्पा, ब्याम्बो र टिवेटन । हामी टिवेटनमा रोकियौँ । यही होटलमा खाना र बाँस बस्यौँ, प्रतिव्यक्ति १५०० तिर्‍यौँ । बिजुली बत्ती छैन, सोलारको धिपिधिपी उज्यालोमा बस्न परेको छ । स्याफ्रुबाट यति नजिक पनि सञ्चार सुविधा टेलिफोन सेवा छैन । टावरै देखाउँदैन, डाटा चल्दैन । मोबाइल चार्ज गर्न कठिन छ । तै होटलको साहुजीलाई अनुरोध गरेर वाइफाइ चाहिँ चलाउने सुविधा एकछिन पाएर घरपरिवारसँग कुराकानी भयो ।

राम्चे (२२२३ मिटर) भीरको एउटा ढुङ्गामा टाँगिएको फोटो देखेर हाम्रा हिँडाइ टक्क रोकियौँ, फोटोले २०७२ सालको महाभूकम्पको त्रासदी सम्झायो । लाङटाङ पदयात्रामा निस्केका इजरायली युवाको भूकम्पसँगै ओइरिएको पहिरोमा ढुङ्गाले किचेर यहीँ मृत्यु भएको रहेछ । उनकै सम्झनामा सो फोटो राखिएको रहेछ । ठाउँठाउँमा भेट्टाइने पहेँलपुर ऐंसलुको स्वाद लिँदै अघि बढ्छौँ । दुईटा डाँडाका बीचमा अलिकति आफ्नो अनुहार देखाएर मुसुक्क हाँसेको ‘चदाङ पिक’ देख्दा रमायौँ । झण्डै ३ घण्टाको हिँडाइपछि हामी ब्याम्बोबाट लामा होटल (२४१०मि) पुग्यौँ । यहाँ १०/१२ वटा होटल रहेछन् । पहिले लामा भन्ने व्यक्तिले यता चौंरी पालेर खर्क बनाएर होटल चलाएकाले यस ठाउँलाई उनकै सम्झनामा ‘लामा होटल’ भनिएको रहेछ । त्यसबाट पनि हामी अगाठि बढ्यौँ रिभर साइड (२७६९ मि.) पुगेर खाना खायौँ ।

अघाएको पेट बोकेर हिँड्दा हामी घोडा तवेला पुग्यौँ । केही समय आराम गरेपछि हामी अगाडि बढ्यौँ, झोलामा दिदीले हालीदिएको भाईमसला खाँदै हाम्रो यात्रा अगाढि बढ्यो । ठाडै उकालो आयो, गलेको जिउलाई झन् गलायो । उकाली ओराली गर्दै थाङसाप भिलेज ( ३२०० मि) पुग्यौँ । यहाँ २/३ वटा होटल रहेछन् । हामी टिब्बत होटलमा बास बस्यौँ । भोलिपल्टको ब्रेकफास्टपछि फेरि हाम्रो यात्रा निरन्तर अगाडि बढ्यो । चिसो सिरेटो चल्न सुरू गर्‍यो । लाङटाङ पुग्नु अघि म त बेस्सरी थाकेँ, हिड्नै गार्‍हो हुन थाल्यौ, पदयत्रा छोडेर फर्किउँ कि जस्तो पनि लाग्यो । मलाई चिसोले समातेको रहेछ । डाँडामा रहेको होटलवालाले टोपी लाउन, लुगा थप्न सल्लाह दिए । मैले चिसिएको जिउमा लुगा थपेँ, ज्याकेट लाएँ । त्सपछि अलि आरामको महसुस भयो । त्यहीबेला इनर्जी जुस पनि खाएँ । एक गिलास जुसको ३ सय रुपैँयाका पर्दो रहेछ ।

लाङटाङ पुग्नु अघिको एउटा बस्ती ढुङ्गैढुङ्गाले पुरिएको रहेछ २०७२ सालको भुकम्पको क्षति रहेछ त्यो । भूकम्पसँगै आएको ठूलो हिउँ पहिरो सिजनको बेला भएकाले धेरै जनधनको नोक्सानी भएको रहेछ । लामो यात्रापछि लाङटाङ भिलेज (३४७५ मि)पुग्यौँ ।

विशेष खालको फलामे चिम्नी चुल्होमा दाउरा हालेर आगो सल्काएपछि कोठा रनक्क तात्यो । त्यसकै वरिपरि बसेर तातो भात खायौँ । तरकारी भने जुन होटलमा पनि आलुकै पाइने वन साग अलिअलि मिसाएको र स्कुसको तरकारी मात्रै पाइने । सबै होटलमा सुकेको याक चौंरीको मासु मात्र पाइने रहेछ ।

यात्रामा भेटिएका सबैले बोद्ध पो धर्म मान्ने यताकाले । आफ्नो डाइनिङ हलको एउटा छेउमा बुद्धधर्म अनुसारको मन्दिर स्थापना गरेका हुँदा रहेछन् । सबै ठाउँमा दलाई लामाको फोटो पनि देखिन्थे । क्यानजिन गुम्पा (३८५० मि.) तिर निरन्तर अगाडि बढ्यौँ । खुट्टा दुखेर हिड्न नसक्ने अवस्था थियो, तथापि विस्तारै यात्रालाई निरन्तरता दिइरह्यौँ । बाटामा पानीबाट चलाइएको माने, छोर्तेन, लुङदार र साना गुम्बा देख्दा मनै आनन्दित भयो । ढुङ्गैढुङ्गाको अजङ्गका भिराला पहाड, ढुङ्गाकै लामा लामा छोर्तेनहरू, ढुङ्गै छापेका बाटाहरू, ढुङ्गैले ठडिएका घर र गुम्बाहरू र बाटाभरि फुलेका फूलहरूले हाम्रो प्रफुल्लित थियो ।

लाङटाङ र क्यानजिनको बीचमा पर्ने दुई वटा मुन्दुम (३२१३ मि) र सिन्दुम (३५५५ मि) लुङता फहराइ रहेका भ्याली काटेर सानो उकालो चढ्ने बित्तिकै क्यानजिनका होटलहरू र छेउका चौंरी खर्क छयाङ्ग देखिए । क्यानजिन रि (४३५०) चढ्न तयारी थियो तर मलाई सन्चो नभएर मैले चाहिँ चढिनँ ।

यसरी लाङटाङको यात्रा सफलता पूर्व पूरा गरी क्यानजिनबाट हामी एकै दिनमा स्याफ्रुबेसी पुग्न सक्दैन्थ्यौँ । बीचमा कहीँ न कहीँ बास बस्नै पर्ने थियो । हिजो अस्ति हिँडेका बाटाहरूसँग फेरि पिरति गास्दै लामा होटलमै बास बसियो । लामा होटलबाट हिँडेर बाटा, जङ्गल र लाङटाङ खोलासँग अन्तरङ्ग गर्दै स्याफ्रुबेंसी आइपुग्यौँ । स्याफ्रु बजार घुम्यौँ । अविस्मरणीय लाङटाङ, क्यानजिन भ्याली र क्यानजिन रिको सम्झना बोकेर आठौ दिनको दिन काठमाडौ आइपुग्यौँ । लाङटाङ पदयात्रामा बाटाभरी कहिले इजरायली, कहिले क्यानेडियन, न्युजिल्याण्डवासी, जापानी, भारतीय र इन्डोनेसियन, अझ बढी त इटालियन, कोरियान कोही एकल, कोही जोडी, कोही गाइड र सहयोगीका हिडीरहेका भेटिन्थे । म सबैजसोलाई दुई हात जोडेर नमस्ते भन्थेँ । मुसुक्क हाँसेर उनीहरू पनि नमस्ते भन्थे ।

दुःख त भयो, गार्‍हो त भयो तर घरै बसेको भए यो भूस्वर्ग, यो हिमाली जनजीवन, यहाँको संस्कृति, यहाँको भू-बनोट, कहाँ देखिनु र कहाँ भोग्न पाउनु बाटो सम्झिदा कष्टकर लागे पनि यात्राको क्रममा नयाँ कुरा देख्न भोग्न र सिक्न पाउने हुनाले यात्रा सकिने बित्तिकै मान्छेले आन्नदको अनुभूति गर्छ । जीवनमा एकपटक यात्रा गर्नेपर्ने गन्तव्य हो लाङटाङ ।