रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–६ स्थित सरस्वती युवा क्लबको विशेष साधारणसभाले श्यामलाल ठोकर (कर्ण)को अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ ।
साधारणसभाले क्लबको विकास तथा सामाजिक क्षेत्रमा योगदान पुर्याएका २२ जनालाई सम्मान समेत गरेको छ ।
क्लबका अध्यक्ष शिव पुरीको अध्यक्षता तथा पूर्वसांसद देवप्रसाद तिमल्सिनाको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न कार्यक्रममा पूर्वप्रदेशसभा सदस्य धनलाल ठोकर र वृन्दावन नगरपालिकाका पूर्वनगरप्रमुख रामस्नेही यादव विशिष्ट अतिथिका रूपमा सहभागी थिए ।
कार्यक्रममा जिल्ला फुटबल संघ रौतहटका अध्यक्ष भगवान दर्लामी, चन्द्रपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका सचिव अवधेशहरि भट्टराई, क्लबका आजीवन सदस्य जगतनारायण कुँवर, नवसाद आलम, सुशील अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तिमल्सिनाले २०२८ सालमै दर्ता भई स्थापना भएको सरस्वती युवा क्लब चन्द्रपुर क्षेत्रकै पुराना तथा ऐतिहासिक सामाजिक संस्थामध्ये एक रहेको बताए । पाँच दशकभन्दा बढी समयदेखि क्लबले खेलकुद, सामाजिक सेवा, सांस्कृतिक गतिविधि तथा युवाको नेतृत्व विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको उनले बताए ।
उनले संस्थाको गौरवशाली इतिहासलाई संरक्षण गर्दै समयअनुकूल नयाँ पुस्तालाई संस्थासँग जोड्न आवश्यक रहेको बताए । युवाको सक्रिय सहभागिताले समाजमा सकारात्मक परिवर्तन सम्भव हुने उल्लेख गर्दै क्लबले निर्वाह गर्दै आएको सामाजिक दायित्वलाई अझ प्रभावकारी रूपमा अघि बढाउनुपर्ने धारणा राखे । संस्थागत विकास, नेतृत्व क्षमता अभिवृद्धि र युवाको सशक्तीकरणमा क्लबले प्रभावकारी भूमिका खेल्नुपर्ने उनको भनाइ थियो ।
क्लबका अध्यक्ष पुरीले स्थापना कालदेखि हालसम्मका गतिविधिबारे जानकारी दिँदै संस्थाले खेलकुद विकास, सामाजिक सेवा, विपद् व्यवस्थापन तथा विभिन्न जनहितका कार्यक्रम सञ्चालन गर्दै आएको बताए । उनले क्लबको इतिहास, प्रतिष्ठा र उद्देश्यलाई जोगाउँदै आगामी दिनमा संस्थालाई अझ व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउँदै लैजानुपर्ने आवश्यकता औँल्याए ।
कार्यक्रमका अवसरमा क्लबको स्थापना, विकास, खेलकुद प्रवर्द्धन, सामाजिक सेवा तथा संस्थागत सुदृढीकरणमा विभिन्न समयमा योगदान पुर्याएका २२ जनालाई सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो ।
सम्मानित व्यक्तिहरूको योगदानले क्लबलाई आजको अवस्थामा पुर्याउन महत्वपूर्ण भूमिका खेलेको भन्दै आयोजकले उनीहरूको योगदानको उच्च मूल्याङ्कन गरेको जनाएको छ ।
साधारणसभाले अध्यक्षमा श्यामलाल ठोकर (कर्ण), उपाध्यक्षमा धनबहादुर लामिछाने, सचिवमा दीक्षित पौडेल, सहसचिवमा निर्मल भण्डारी तथा कोषाध्यक्षमा सन्नी राउतलाई सर्वसम्मत चयन गरेको छ ।
सदस्यहरूमा कुमारसिं लामा, पवन चौधरी, सुवोध गिरी, सुमन स्थानी मगर, निकिता ठोकर, सागर घिमिरे, मन्दिरा राई तथा वीरेन्द्र साह चयन भएका छन् ।
कार्यसमितिको बैठकले सोहेल खान र सम्झना चौधरीलाई सदस्य पदमा मनोनयन गरेको जनाएको छ ।
नवनिर्वाचित अध्यक्ष ठोकरले क्लबलाई स्थानीय युवाहरूको साझा संस्था बनाउँदै खेलकुद, सामाजिक सेवा, सांस्कृतिक संरक्षण तथा रचनात्मक गतिविधिमा युवालाई सक्रिय रूपमा परिचालन गर्ने प्रतिबद्धता व्यक्त गरे । समुदायको आवश्यकता र अपेक्षाअनुसार कार्यक्रम सञ्चालन गर्दै संस्थाको गरिमालाई अझ उचाइमा पुर्याउने उनले बताए ।
क्लबका सचिव सुनिलकुमार शाहले कार्यक्रम सञ्चालन गरेका थिए ।








प्रतिक्रिया