
दाङ, २८ कात्तिक । चीनको सिचुआन प्रदेश सरकारको आयोजनामा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन त्यहाँ पुगेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेश सरकार र चीनको सिचुआन प्रदेश सरकारबीच पर्यटन प्रवर्द्धनमा सहकार्य गरिने बताएका छन् ।
भगिनी सम्बन्धलाई पुनर्ताजगी गर्दै दुई प्रदेशका बीचमा सहयोग आदानप्रदानलाई तिव्रता दिइने मुख्यमन्त्री आचार्यले बताए । छेन्दुमा रहेको जाइन्ट पाण्डा ब्रिड सेन्टरको बुधबार अवलोकन गर्दै मुख्यमन्त्री आचार्यले सिचुआनको छेन्दुबाट लुम्बिनीको भैरहवा सिधा हवाई उडानको व्यवस्था गर्ने बारेमा पहल सुरु भएको जानकारी दिँदै चीनले पर्यटनको क्षेत्रमा हाँसिल गरेको उपलब्धि र सिकाइलाइ अनुसरण गरिने, पर्यटन प्रवर्द्धनमा सहकार्य हुने बताए ।

‘हाम्रा पर्यटकीय स्थल, संरक्षण क्षेत्रको व्यवस्थापनमा चिनियाँ अनुभव र सिकाइलाई परिस्कृत गरेर लागू गर्न सकिन्छ’ मुख्यमन्त्री आचार्य भने, ‘लुम्बिनी पर्यटन सर्किटलाई कार्यान्वयन गर्न यहाँको सिकाइ उपलब्धि मुलक बन्नेछ ।’
मुख्यमन्त्री आचार्यसहित सम्मेलित भ्रमण दलले छेन्दु अन्तराष्ट्रीय रेलवे बन्दरगाहाकोसमेत अवलोकन गरेको छ ।
भ्रमणमा मुख्यमन्त्री आचार्यसहित आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्की, प्रमुख सचिव महादेव पन्थ, मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार डाक्टर रामबहादुर राउत, स्वकीय सचिव कुशल भुसाल, विज्ञ सल्लाहकार डाक्टर सागर न्यौपाने, मुख्यमन्त्रीकी श्रीमती दिपा आचार्यलगायत सहभागी छन् ।













प्रतिक्रिया