
विराटनगर, २७ कात्तिक । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेकपा (एमाले) नेतृत्वको सरकारले मात्रै देशमा सुशासन कायम गर्नसक्ने बताएका छन् ।
आज मोरङको ग्रामथानमा एमाले मोरङद्वारा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले अनुशासनहिन काम गर्ने कसैलाई पनि छुट दिने पक्षमा एमाले नरहेको प्रस्ट्याए ।
मुख्यमन्त्री कार्कीले भने, ‘कानुनविरोधी काम गर्ने कसैलाई पनि छुट छैन् । जोसुकै भएपनि हामी कानुनी दायरामा ल्याउँछौँ । चाहे प्रदेश संसदभित्र रहेका मानिस हुन वा संघीय संसदभित्र रहेका मानिस हुन्, चाहे मुलुकका ठूला ठूला कुर्सीमा विराजमान भएका मान्छेहरु हुन् । सबैलाई कानुनी दायरामा ल्याइन्छ ।’ उनले अहिले चोर्न पाइनु पर्छ, लुट्न पाइनु पर्छ, हामीले गरेको ठिक हो भन्ने खालका पोष्टहरु सामाजिक सञ्जालमा आउने गरेको बताउँदै सबै विषयलाई कानुन अनुसार टुंगोमा पुर्याउन सरकार लागि रहेको बताए ।
मुख्यमन्त्री कार्कीले अहिले सामाजिक सञ्जालको दुरुपयोग गरेर, फेक आइडी बनाएर एआई प्रविधिको दुरुपयोग गरेर मुलुकको राष्ट्रियतामाथि र मुलुकका लागि लडेका नेताहरुमाथि प्रहार गर्ने काम केही व्यक्ति तथा संस्थाहरुले गरिरहेको बताए ।
यसैगरी, मुख्यमन्त्री कार्कीले मंसिर १६ गते हुने उपचुनावमा सत्ता सहकार्य गर्ने दल नेपाली कांग्रेससँग पनि स्वस्थ्य प्रतिस्पर्धा गर्ने बताउँदै आफ्ना उम्मेदवारहरुलाई जिताउन कार्यकर्ताहरुलाई आग्रह गरे । ग्रामथानको विकासमा कोशी प्रदेश सरकारको तर्फबाट प्रतिवद्धता व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले सक्ने जति काम यही आर्थिक वर्षमा पूरा गर्ने आश्वासन दिए ।









प्रतिक्रिया