
दैलेख, २७ कात्तिक । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले व्यक्ति विशेषका कमजोरीलाई लिएर सिंगो व्यवस्था नै असफल भयो भन्ने तर्क प्रस्तुत गर्न नहुने बताएका छन् ।
नेपाल पत्रकार महांसघ दैलेखले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मुख्यमन्त्री कँडेलले राजनीतिक दलभित्रका एकआध व्यक्तिले गरेका कमजोरीलाई लिएर व्यवस्था नै असफल भयो भन्ने तर्क जायज नभएको बताएका हुन् ।
‘हाम्रा कमजोरीहरु होलान् ति कमजोरीहरु सच्चाउँदै जानुपर्दछ, खराब काम गर्नेहरुलाई जनताले स्वतः बहिष्कार गर्छन्,’ मुख्यमन्त्री कडेलले भने, ‘तर व्यक्तिका कमजोरीलाई व्यवस्थाप्रति नै औला ठड्याउने काम उचित होइन ।’
लामो समयको संघर्षपछि जनता नै सार्वभौम हुने गणतान्त्रिक व्यवस्था प्राप्त भएको चर्चा गर्दै मुख्यमन्त्री कँडेलले व्यक्तिका कमजोरीलाई लिएर जनतामा निरासा बाँडनेतर्फ सजग हुन आग्रह गरे । उनले भने, ‘हामीले अभ्यास गरेका कतिपय कामप्रति नागरिकमा सकारात्मक भावना छैन, त्यसलाई सुधार्दै जानु हाम्रो कर्तव्य हो तर व्यक्तिले गरेका बदमासीलाई व्यवस्थासँग जोडेर जनतालाई निरासा बाँडनेतर्फ हामी होसियारी हुनुपर्छ ।’
लोकतन्त्रमा राम्रो काम गर्न सक्दा मन नपाउने पनि मन पराउने तर राम्रो काम गर्न नसक्दा मन पराएकाले पनि छाडेर जान्छन भन्ने कुरा आफूलाई राम्रो हेक्का भएको बताउँदै मुख्यमन्त्री कँडेलले गर्न नसक्ने आश्वासन बाँडनुभन्दा नागरिकलाई साँचो कुरा मात्र बताउनु पर्ने धारणा राखे ।
विकास र भूगोल, सामर्थ र साधनको हिसावले कर्णाली प्रदेश कमजोर रहेको धारणा राख्दै मुख्यमन्त्री कँडेलले विकास र समृद्धिमा एक्लै जस लिनुभन्दा सबैलाई संँगै हिँडाउने आफूले प्रत्यन्न गरेका तर्क राखे ।
धार्मिक पर्यटन र कृषिको व्यवसायिकरणबाट दैलेखलाई समृद्धि बनाउन सकिन्छ भन्ने आफूले पाएको उल्लेख गर्दे मुख्यमन्त्री कँडेलले पेट्रोलियम पर्दाथको अनुसन्धानले राम्रो परिणाम निस्कन सके त्यसले दैलेखलाई अझै माथि उठाउन खेल्ने धारणा राखे । सुधारको अभियानमा सबैले समर्थन गर्ने तर अभियान सुरु गर्दा कहिलेकाहीँ एक्लै परिने दृष्टान्त पेश गर्दे मुख्यमन्त्री कँडेलले सुधारको अभियानमा एक्लै पर्दा पनि नडगमाउने गरी खुट्टा टेक्ने प्रतिबद्धता व्यक्त गरे ।








प्रतिक्रिया