
दाङ, २७ कात्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन चीन पुगेका छन् ।
चीनको सिचुआन प्रान्तमा सुरु भएको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागि हुन सोमबार मुख्यमन्त्री आचार्य त्यसतर्फ प्रस्थान गरेका हुन् ।
सिुआयनको छेन्दुमा रहेको तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलमा मुख्यमन्त्री आचार्यसहित भ्रमणदलमा सहभागिहरुलाई स्वागत गरिएको छ । सिचुआन सरकारको विदेश विभागको एशिया हेर्ने थु छाङ्ग र नेपालको महावाणिज्य दूतावासका निमित्त प्रमुख कोमल बरालले मुख्यमन्त्री आचार्यलाई स्वागत गरेको भ्रमणदलमा सहभागि मुख्यमन्त्रीका स्वकीय सचिव कुशल भुसालले जानकारी दिएका छन् ।
सिचुआन प्रान्तमा समन्वय र विकासको विषयमा छलफल गर्न तीन दिने सम्मेलनको आयोजना गरिएको छ ।
मुख्यमन्त्री आचार्य आज सम्मेलनमा भाग लिने कार्यतालिका छ । मुख्यमन्त्री आचार्यसहित आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्की, प्रमुख सचिव महादेव पन्थलगायत ७ सदस्यीय प्रतिनिधि मण्डल भ्रमणमा सहभागि रहेको छ ।
यो भ्रमणले लुम्बिनी प्रदेश सरकार र चीनको सिचुआन प्रान्तबीच पारिस्परिक सहयोग तथा सद्भाव थप अभिवृद्धि गर्ने विश्वास मुख्यमन्त्री आचार्यले लिएका छन् । भ्रमणको क्रममा लुम्बिनी प्रदेशको समग्र विकासका योजनालाई अघि बढाउन द्विपक्षीय सहयोग र सहकार्यको बारेमासमेत उच्चस्तरीय भेटवार्ता हुने जनाइएको छ ।
वि.सं. २०७६ सालमा प्रदेश सरकार र सिचुआन प्रान्तबीच भगिनी सम्बन्ध कायम गरिएको थियो । तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलले सिचुआन प्रान्तसँग भगिनी सम्बन्ध कायम गरेका थिए । कृषि, उद्योग, पर्यटनलगायतका क्षेत्रमा लुम्बिनी प्रदेश सरकार र सिचुआन प्रान्तबीच सहयोग आदानप्रदान गर्ने समझदारी भएको थियो ।








प्रतिक्रिया