३० असार २०८३, मंगलबार

वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गर्ने ३ जना पक्राउ

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ कात्तिक । वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिने भन्दै १२ लाख २५ हजार रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई सोमबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्याङ्जा बिरुवा गाउँपालिका-१ घर भई हाल काठमाडौं-३१ बानेश्वर बस्ने ५० वर्षीया कमलाकुमारी केसी, बागलुङ बडिगाड गाउँपालिका-९ घर भई हाल भक्तपुर सूर्यविनायक-२ बालकोट बस्ने २२ वर्षीया सीता बुढा तथा झापा मेचीनगर नगरपालिका-१० घर भई हाल काठमाडौं महानगरपालिका-२६ नयाँ बसपार्क बस्ने २६ वर्षीय मनिश खड्का रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

उनले भने, ‘पक्राउ परेकामध्ये केसीले क्रोएसिया पठाउने भन्दै चार जनाबाट रु आठ लाख २५ हजार, बुढाले युके पठाउने भन्दै एक जनाबाट रु दुई लाख तथा खड्काले क्रोएसिया पठाउने भन्दै एक जनाबाट रु दुई लाख २५ हजार लिई विदेश नपठाइ सम्पर्कविहीन भएको पीडितको जाहेरीका आधारमा पक्राउ गरिएको हो ।’

पक्राउ परेकाहरुको थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको सूचना अधिकारी आचार्यले बताए ।