२१ जेष्ठ २०८३, बिहिबार

एसईई परीक्षाको उत्तरपुस्तिका जाँचमा लापरबाही, अनेरास्ववियुद्वारा परीक्षा बोर्डको ध्यानाकर्षण

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ कात्तिक । अनेरास्ववियु काठमाडौं जिल्ला कमिटीले राष्ट्रिय परीक्षा बोर्डलाई जिम्मेवार बनाउन बोर्डका अध्यक्ष महाश्रम शर्मालाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

बोर्डका उत्तर पुस्तिका निरीक्षकले उत्तरपुस्तिका जाँचमा लापरबाही गर्ने गरेको भन्दै अनेरास्ववियुले अध्यक्ष शर्माको ध्यानाकर्षण गराएको हो ।

खोटाङ केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरस्थित थर्पुडाँडा माध्यमिक विद्यालयका छात्र शिवकुमार राईको उत्तर पुस्तिका नियतवश केरमेट गरेर परीक्षकले अनुत्तीर्ण गराएको आरोपसहित ती छात्रका आफन्तले बोर्डमा उजुरी दिएको र उजुरीका आधारमा राष्ट्रिय परीक्षा बोर्डले पुनः उत्तर पुस्तिका परीक्षण गरी उत्तीर्ण भएको सूचना सार्वजनिक भएपछि अनेरास्ववियुले यस विषयमा चासो राखेको हो । अनेरास्ववियुले घटनामा संलग्न दोषीलाई कारबाही गर्न पनि माग गरेको छ ।

अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज धर्मराज तिमिल्सीना नेतृत्वको टोलीले परीक्षा नियन्त्रक नन्दलाल पौडेलसँग यस विषयमा छलफल गरेको थियो । परीक्षा नियन्त्रकका अनुसार २०८० को एसईई नतिजा हेर्दा पुनर्योगको लागी निवेदन दिने १८ हजार ६ सय १२ जना विद्यार्थी मध्य ८ सय ४८ जना विद्यार्थीको नतिजा परिवर्तन भएको पाइएको अनेरास्ववियुले जनाएको छ ।

ती मध्ये २ सय जना विद्यार्थीले कपि हेर्न पाउँ भनेर निवेदन दिएकामा ३६ जनाले विज्ञसँग बसेर उत्तर पुस्तिका हेरेका संगठनले जनाएको छ । विज्ञले फकाएर कपि पुनः परीक्षण नगर्न दबाब दिँदा दिँदै १६ जना विद्यार्थीले कपि पुनः परीक्षणको लागि निवेदन दिएकामा १० जनाको नतिजा परिवर्तन भएर आएको तथ्याङ्कलाई हेर्दा उत्तर पुस्तिका पुनः परीक्षण गर्दा ६२ दशमलव ५५ प्रतिशत विद्यार्थीको नतिजामा परिवर्तन आउने देखिएको अनेरास्ववियुले जनाएको छ ।

यो तथ्यांकले राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, मातहतका संयन्त्रहरू तथा सम्बन्धित सरोकारवालाहरू कति गैर जिम्मेवार छन् र विद्यार्थीको भविष्यसँग कसरी खेलबाड गरिरहेका छन् भन्ने प्रष्ट भएको अनेरास्ववियुले बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मालाई ध्यानाकर्षण पत्र बुझाउँदै अनेरास्ववियुले राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट पनि प्रभावकारी नरहेकोले वेबसाइट प्रभावकारी बनाउन पनि आग्रह गरेको छ ।