
गुल्मी, २६ कात्तिक । नेपाल वायुसेवा निगमले गुल्मीमा हवाई उडानको समय तालिका परिवर्तन गरेको छ । यसअघि बुधबार र शुक्रबार गरी सातामा दुई दिन उडान गर्दै आएकोमा अबदेखि बिहीबार मात्र उडान गर्ने भएको हो ।
नेपाल वायुसेवा निगमको एउटा जहाज ग्राउन्डेड र अर्को अप्रेसनमा रहेका कारण जहाज नबन्दासम्म निगमले सातामा एकपटक मात्र उडान गर्ने भएको रेसुङ्गा विमानस्थलका स्टेसन प्रमुख सुमन थापाले जानकारी दिए ।
रेसुङ्गा विमानस्थलमा प्रतिकूल मौसमका कारण लामो समयदेखि हवाई उडान अवरुद्ध हुँदै आएकोमा गत दुई सातादेखि उडान नियमित गरेको थियो । नियमित उडान सुरु गरेलगत्तै पुनः उडान तालिका परिवर्तन गरेको हो ।
नेपाल वायुसेवा निगमले रेसुङ्गादेखि काठमाडौंका लागि सात हजार तीन सय र काठमाडौंबाट रेसुङ्गाका लागि सात हजार पाँच सय रुपैयाँ भाडादर कायम गरेको छ ।








प्रतिक्रिया