काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले लगातारको हारलाई पूर्णविराम लगाउँदै पहिलो जित दर्ता गरेको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पोखराले कर्णाली याक्सलाई ६३ रनले पराजित गरेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २१७ रनको विशाल योगफल तयार पारेको थियो। उसका लागि युवराज सामराले आक्रामक शतक प्रहार गरे। उनले ४८ बलमा १० चौका र ६ छक्काको मद्दतले १०२ रन बनाए।
त्यस्तै कप्तान कुशल भुर्तेलले ३९ बलमा ६२ रनको योगदान दिए। उनले सात छक्का प्रहार गरे। यस्तै चमिका करुणारत्नेले ११ बलमा अविजित ३५ रन जोड्दै टोलीको स्कोरलाई २१७ सम्म पुर्याउन सहयोग गरे।
२१८ रनको लक्ष्य पछ्याएको कर्णाली पोखराको बलिङसामु टिक्न सकेन। कर्णालीले निर्धारित ओभरमा लक्ष्य भेट्टाउन नसक्दा पोखरा ६३ रनले विजयी भयो।
पोखराका लागि मेहेदी हसनले तीन विकेट लिए भने सोमपाल कामीले दुई विकेट लिए।
यसअघि पोखराले प्रतियोगिताका सुरुवाती चार खेलमा लगातार हार बेहोरेको थियो। सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, लुम्बिनी लायन्स र चितवन राइनोजसँग पराजित भएको पोखराले पाँचौँ खेलमा आएर जितको खाता खोलेको हो।












प्रतिक्रिया