२६ असार २०८३, शुक्रबार

को हुन् श्रीलंकाका नयाँ राष्ट्रपति दिसानायके ?

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ असोज । श्रीलंकाको राष्ट्रपतिमा वामपन्थी अनुरा कुमारा दिसानायके निर्वाचित हुनुभएको छ । सन् २०२२ मा अर्थतन्त्र धरासायी भएपछि भएको निर्वाचनमा उहाँले यो जित हासिल गर्नुभएको हो ।

दोस्रो चरणको मतगणनापछि दिसानायकेले निकटतम प्रतिद्वन्द्वी सजित प्रेमदासलाई पराजित गर्दै यो जित दर्ता गर्नुभएको हो । पहिलो चरणमा कुनै पनि उम्मेदवारले जित्नका लागि आवश्यक ५० प्रतिशतभन्दा बढी मत प्राप्त गरेका थिएनन् ।त्यसपछि निर्वाचन अधिकृतहरूले मतदानका क्रममा मतदाताको दोस्रो प्राथमिकताको मत गणना गरेका थिए । त्यसपछि दिसानायके विजयी घोषित हुनुभयो । वर्तमान राष्ट्रपति रनिल विक्रमासिङ्घे तेस्रो स्थानमा रहनुभयो ।

सन् २०१९ मा भएको निर्वाचनमा ३ प्रतिशत मात्र मत पाउनुभएका दिसानायकेका लागि यो अप्रत्याशित जित हो । यस चुनावमा राष्ट्रिय जनशक्ति (एनपीपी) गठबन्धनबाट दिसानायके उम्मेदवार हुनुहुन्थ्यो ।

हालैका वर्षहरूमा भ्रष्टाचार विरुद्धको अभियान र गरिबहरूलाई समर्थन गर्ने नीतिहरूले उहाँलाई धेरै लोकप्रिय बनाएको थियो । यसको बढ्दो लोकप्रियता एक समयमा आयो जब श्रीलंका आफ्नो सबैभन्दा खराब आर्थिक संकट सामना गरिरहेको थियो । आर्थिक मन्दीको त्यो अवधि अझै जारी छ ।  संकटको छायाँबाट बाहिर निस्कन खोजिरहेको देशको सत्ता उहाँले हातमा लिनुभएको छ ।

दिसानायकेको राजनीतिक यात्रा 

विद्यार्थी राजनीति र ‘हिंसाका लागि माफी’बाट सुरु दिसानायकेको जन्म २४ नोभेम्बर १९६८ मा गलेवेलामा भएको थियो । यो मध्य श्रीलंकाको बहुसांस्कृतिक र बहुधार्मिक सहर हो ।

मध्यम वर्गमा हुर्किनुभएका दिसानायके सरकारी विद्यालयमा पढ्नुभएको थियो र भौतिकशास्त्रमा डिग्री गर्नुभएको थियो । सन् १९८७ मा भारत–श्रीलंका सम्झौता हुँदा उहाँ विद्यार्थी राजनीतिमा प्रवेश गर्नुभयो । यो त्यही समय थियो जब श्रीलंकाको सबैभन्दा ठूलो रक्तपातपूर्ण चरण सुरु भयो ।

१९८७ देखि १९८९ सम्म, मार्क्सवादी राजनीतिक पार्टी जनता विमुक्ति पेरामुना (जिभिपि)ले श्रीलंका सरकारविरुद्ध हतियार उठायो । दिसानायके यो पार्टीसँग निकै घनिष्ट हुनुहुन्थ्यो ।  ग्रामीण क्षेत्रका तल्लो र मध्यम वर्गका युवाहरू बीचको असन्तुष्टि र विद्रोहले द्वन्द्वको अभियानलाई निम्त्यायो, जसले राजनीतिक विरोधीहरूका बीचमा छापा मार्ने र हत्याहरू निम्त्यायो । यसबाट हजारौंले ज्यान गुमाए ।

१९९७ मा, दिसानायके जिभिपिको केन्द्रीय समितिमा निर्वाचित हुनुभयो र २००८ मा उहाँ यसको नेता चुनिनुभयो । यसपछि उहाँले यस पार्टीले गरेको हिंसाका लागि माफी माग्नुभएको थियो ।

सन् २०१४ मा बीबीसीलाई दिएको अन्तर्वार्तामा उहाँले भन्नुभएको थियो, ‘सशस्त्र विद्रोहका क्रममा धेरै कुरा भयो जुन हुनुहुँदैन थियो । हामी अझै पनि स्तब्ध र स्तब्ध छौँ कि यो सबै हाम्रो हातले भयो जुन हुनु हुँदैनथ्यो । यसबाट हामी सधैं दुःखी र स्तब्ध हुन्छौँ ।’

एक ‘भिन्न’ नेता

राष्ट्रपति चुनावको प्रचारमा दिसानायकेले श्रीलंकाको इतिहासमा दोस्रो सबैभन्दा रक्तपातपूर्ण हिंसालाई उल्लेख गर्नुभयो । उहााले सन् २०१९ मा इस्टरको दिन भएका विस्फोटका बारेमा कुरा गर्नुभयो ।

अप्रिल २१, २०१९ मा राजधानी कोलम्बोका चर्च र अन्तर्राष्ट्रिय होटलहरूमा शृङ्खलाबद्ध बम विस्फोटमा कम्तिमा २९० जनाको मृत्यु भएको थियो भने सयौं घाइते भएका थिए । यो श्रीलंकाको इतिहासमा सबैभन्दा खराब आक्रमण थियो ।

पाँच वर्ष बितिसक्दा पनि लामो अनुसन्धानपछि पनि यी श्रृङ्खलाबद्ध विष्फोटहरू कसरी भए र सुरक्षा व्यवस्था कहाँ चुक्यो भन्ने प्रश्नको जवाफ पाउन सकेको छैन । धेरैले गोटाबाया राजापाक्षको अघिल्लो सरकारले छानबिनमा अवरोध गरेको आरोप लगाएका छन् । दिसानायकेले राष्ट्रपति बनेपछि यस विषयमा छानबिन गर्ने बाचा गर्नुभएको थियो । ‘आफ्नो जिम्मेवारी’ पर्दाफास हुने डरले एजेन्सीहरूले त्यसो गर्नबाट टाढिएको उहाँले बताउनुभएको थियो ।

श्रीलंकाका राजनैतिक सम्भ्रान्त वर्गले गर्दै आएका अपूरो बाचामध्ये यो एउटा भएको उहाँले बताउनुभयो ।  उहाँले भन्नुभयो, ‘यो अनुसन्धान मात्रै होइन । भ्रष्टाचार रोक्ने वाचा गर्ने राजनीतिज्ञ भ्रष्टाचारमा संलग्न रहे, श्रीलंकालाई ऋण मुक्त गर्ने वाचा गर्नेहरूले ऋण थप बढाए, जसले कानुनलाई बलियो बनाउने बाचा गरे उनीहरूले कानुन तोडे । यही कारणले मात्रै देशका जनता फरक राजनीति चाहन्छन् । यो प्रदान गर्न सक्ने हामी मात्र हौँ ।’

परिवर्तन गर्नसक्ने उम्मेदवार

शनिबार भएको निर्वाचनमा दिसानायकेलाई बलियो उम्मेदवारका रुपमा हेरिएको थियो । देशव्यापी बढ्दो असन्तुष्टिको विरूद्ध उहाँले आफूलाई परिवर्तनको उम्मेदवारको रूपमा प्रस्तुत गर्नुभयो । आर्थिक संकटविरुद्ध २०२२ मा जनआन्दोलन भएपछि पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे देश छोडेर भाग्नुपरेको थियो ।

वर्षौंको न्यून कर, कमजोर निर्यात, ठूला नीतिगत त्रुटि र अन्ततः कोभिड–१९ महामारीका कारण मुलुकको विदेशी मुद्रा सञ्चिति घटेको थियो । देशको ऋण ८३ अर्ब डलर नाघेको छ भने मुद्रास्फीति ७० प्रतिशतले बढेको छ ।  यस संकटको लागि राजापाक्षे र उहाँको सरकार जिम्मेवार छ । राष्ट्रपति विक्रमासिङ्घेले आर्थिक सुधार लागू गरेपछि मुद्रास्फीति घट्यो र श्रीलंकाली रुपैयाँ बलियो भयो । यद्यपि मानिसहरू अझै पनि संकट महसुस गरिरहेका छन् ।

२०२२ को आर्थिक संकटका साथै भ्रष्टाचार र कानुनको अवहेलना जस्ता परिस्थितिलाई मध्यनजर गर्दै फरक किसिमको राजनीतिक नेतृत्वको माग उठेको हो । त्यही मागको फाइदा दिसानायकले उठाउनुभयो । राजनीतिक वर्गमा भ्रष्टाचार र नातावादका कारण देशमा व्याप्त रहेको आलोचकहरूको यथास्थितिलाई तोड्ने नेताका रूपमा उहाँले आफूलाई प्रस्तुत गर्नुभएको छ ।

दिसानायकेले सत्तामा आएपछि आफूले नीति तर्जुमा गर्ने जनादेश पाउनका लागि संसद विघटन गर्ने योजना बनाएको बारम्बार बताउँदै आउनुभएको छ ।  निर्वाचनअघिका अन्तर्वार्तामा उहाँले निर्वाचित भएको केही दिनमै यो काम गर्ने बताउनुभएको थियो ।  उहाँले भन्नुभएको थियो, ‘जनहितको बाटोमा नभएको संसदसँग हिँड्नुको कुनै अर्थ छैन ।’

गरिबहरूको लागि वकालत

दिसानायकेले भ्रष्टाचारविरुद्ध कडा कारबाही गर्ने, कल्याणकारी योजना ल्याउने र कर कटौती गर्ने बाचा गर्नुभएको छ ।

वर्तमान श्रीलंकाली सरकारले खर्च घटाउन र आम्दानी बढाउन कर बढाएको थियो र कल्याणकारी योजनाहरू घटाएको थियो । सरकारले देशलाई आर्थिक संकटबाट निकाल्न चाहेको थियो तर यस्ता कदमका कारण जनता थप समस्यामा परेका छन् ।

दिसानायकेको प्रतिबद्धताले उहाँलाई थप समर्थन बढाएको छ । चुनावअघि धेरै विश्लेषकहरूले आर्थिक चिन्ताले जनताको भोटिङमा सबैभन्दा बढी प्रभाव पार्ने भनिरहेका थिए । अब्जर्भर रिसर्च फाउन्डेसनका एसोसिएट फेलो सोम्या भौमिक भन्नुहुन्छ, ‘देशको आकाशा छोएको मुद्रास्फीति, दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि र गरिबीका कारण मतदाताले यी सबै समस्याको समाधान आफ्नो जीवनस्तरमा सुधार गर्न खोजेका थिए ।’

श्रीलंका आर्थिक संकटबाट बाहिर आउन खोजिरहेको छ । यो चुनाव श्रीलंकाको आर्थिक पुनरुत्थानको दिशामा र स्वदेश र विदेशमा यसको शासनमा विश्वास निर्माण गर्ने महत्वपूर्ण क्षण हो । दिसानायकेले कर घटाउने र कल्याणकारी योजनाहरू सुरु गर्ने बाचालाई मतदाताहरूले धेरै प्रशंसा गरेका छन् । तर केही लगानीकर्ताहरू चिन्तित छन् कि दिसानायकेको आर्थिक नीतिहरूले श्रीलंकालाई आर्थिक सुधारको बाटोबाट हटाउन सक्छन या सक्दैनन् । तर आफ्नो चुनावी अभियानका क्रममा दिसानायकेले श्रीलंकाको ऋण तिर्न प्रतिबद्ध रहेको बताउँदै आउनुभएको छ ।

 उहाँले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को सल्लाहबिना देशको आर्थिक मोर्चामा कुनै परिवर्तन नहुने पनि बताउनुभयो । आर्थिक मन्दीको सामना गरिरहेको श्रीलंकालाई आइएमएफले ऋण दिएको छ ।  धेरै विश्लेषकहरू विश्वास गर्छन् कि नयाँ राष्ट्रपतिको मुख्य काम श्रीलंकाको अर्थतन्त्रलाई ट्रयाकमा फिर्ता ल्याउनु हुनेछ ।

अथुलसिरी श्रीलंकाको समाराकुन ओपन युनिभर्सिटीमा राजनीतिशास्त्र पढाउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘उनीहरूले सामना गर्ने सबैभन्दा गम्भीर चुनौती भनेको अर्थतन्त्रलाई ट्रयाकमा ल्याउनु हो । यसले सरकारी खर्च घटाउने र राजस्व बढाउनु समावेश गर्दछ । र भविष्यको कुनै पनि सरकारले आइएमएफसँग मिलेर काम गर्नुपर्नेछ ।’