
जीतपुरसिमरा, ३१ साउन । नेकपा (एमाले) जीतपुरसिमरा उपमहानगर कमिटीले जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, सिमरामा गरेको अभद्र व्यवहारको भत्र्सना गरेको छ ।
गत साउन २९ गते शिक्षक सरुवा सन्दर्भमा नगरप्रमुख पौडेलले वडा नं. २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीमाथि अभद्र व्यवहार गरेको घटनाप्रति एमाले जीतपुरसिमराले एक विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
नगरप्रमुख पौडेलले नेपाल प्रहरी, नगर प्रहरी र आफ्नो पार्टीका कार्यकर्तासहित विद्यालय हाता प्रवेश गरी विद्यार्थीहरूलाई त्रसित बनाएको विज्ञप्तिमा उल्लेख छ ।
एमाले जीतपुरसिमरा कमिटीका सचिव रत्नप्रसाद उप्रेतीले जारी गर्नुभएको विज्ञप्तिमा विद्यालयजस्तो शान्ति क्षेत्रमा यस्ता खालका अभद्र क्रियाकलाप नदोहोर्याउन नगरप्रमुखलाई आग्रह गरिएको छ । साथै उपमहानगरपालिकाको कार्यसम्पादनका क्रममा उत्पन्न समस्याहरू आपसी सहमतिमा समाधान गर्न पनि आग्रह गरिएको छ ।
एमाले जीतपुरसिमराले नगरप्रमुख पौडेलको अभद्र व्यवहारले आम नगरवासीलाई लज्जित तुल्याएको उल्लेख गर्दै संयमित र सद्भावको वातावरणमा अघि बढ्न अनुरोध गरेको छ। साथै, शिक्षकहरूको शिक्षण गर्न पाउने अधिकार यथाशीघ्र सुनिश्चित गर्न मागसमेत गरिएको छ ।










प्रतिक्रिया