८ असार २०८३, सोमबार

मुख्यमन्त्री कार्कीद्वारा सिधुवा–शुक्रबारे जोड्ने सडक उद्‌घाटन

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तेह्रथुम, ३० साउन । कोशी प्रदेश सरकारको महत्वपूर्ण सडक सञ्जालको रुपमा रहेको सिधुवा–शुक्रबारे जोड्ने सडक बुधबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्नुभएको छ ।

कोशी प्रदेश सरकारको ८९ करोड ९० लाख रुपैयाँको लागतमा सडक निर्माण गरिएको हो । प्रदेशले काम गर्न नसकिरहेको आलोचना भइरहेको बेला धनकुटा र तेह्रथुम जिल्लालाई जोड्ने यो सडक निर्माणले त्यस क्षेत्रको आर्थिक गतिविधिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास कोशी प्रदेश सरकारको रहेको छ ।

१७ किलोमिटर लामो सडक निर्माणले तेह्रथुमको कृषि, पर्यटनको प्रर्वद्धनमा भूमिका खेल्ने छ । यो सडक धनकुटाको सिधुवाबाट सुरु भई तेह्रथुमको सदरमुकामसम्म पुर्‍याउने लक्ष्यका साथ निर्माण गरिएको हो ।

सडक सञ्जालको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री कार्कीले सडक निर्माणले स्थानीय बजार प्रर्वद्धन र विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले पहाडी जिल्लामा भइरहेको बसाइँसराइ रोक्न र कृषि र पर्यटनलाई प्रर्वद्धन सडक महत्वपूर्ण हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘आज पहाडमा बसाइँसराइ बढ्दै गएको छ, यो रोक्न नीतिगत व्यवस्था गर्दै शिक्षा र स्वास्थ्यमा पनि सरकारले काम गर्ने छ ।’

उहाँले प्रदेश संरचना नयाँ भएपनि यसले महत्वपूर्ण काम गरिरहेको र कोशी प्रदेशको समृद्धिको लागि आगामी वर्ष कोशी पर्यटन वर्ष मनाउने तयारी भइरहेको जानकारी दिनुभयो । ‘नयाँ संरचना हो हामी राम्रा र देखाउन हुने काम गर्नेछौँ ।’ मुख्यमन्त्री कार्कीले भन्नुभयो ‘आगामी असोज ११ गते पर्यटन दिवसका दिन सबै नीतिगत कुराहरु घोषणा गरेर पर्यटन वर्षको तयारीलाई तीव्रता दिनेछौँ ।’

मुख्यमन्त्री कार्कीले बुधबार नै तेह्रथुमको थछर जोरपाटीको खेलकुदलगायत विभिन्न कार्यक्रममा सहभागिता जनाउनु भएको थियो ।