२६ जेष्ठ २०८३, मंगलबार

जनताको दुःखमा सहभागी नहुने नेता, के नेता ?

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-युवराज रोइला
देशको बेरोजगारी दर बढ्दो छ । युवा जनशक्ती पलायनको ग्राफ दिनप्रतिदिन बढ्दो छ । प्रत्येक नेपालीलाई प्रतिव्यक्ति ऋण ८० हजारको आसपासमा पुगेको छ । देशमा अस्थिर राजनीति मौलाए जान थालेको छ । तीन/चार महिनामा केन्द्र सरकार बन्ने र ढल्ने प्रवृत्ति बनेको छ । जसले गर्दा मुलतः देशको आर्थिक, राजनैतिक, कूटनीतिक आदि पक्षहरु धराशायी बन्न पुगेको देखिन्छ ।

केन्द्र सरकार फेरबदलले गर्दा सातवटै प्रदेशमा यसको असर परेको देखिन्छ । केन्द्रीय समीकरण मुताबिक प्रदेश सरकार बन्ने हुँदा पनि प्रदेश नराम्ररी प्रताडित बन्न पुगेको दृष्टान्त तपाईं हामी सामुन्ने छर्लङ्ग छन् ।

मुलुकले प्रजातन्त्र प्राप्त गरेको आज सात दशक भैसकेको छ । मुलुकको अवस्था उस्तै छ । मुलुकले हालसम्म संविधान पनि सात वटा नै पायो । तर संविधानको शतप्रतिशत कार्यान्वयनको पाटो फितलो बनेको देखिन्छ । हरेक पाँच–पाँच वर्षमा हाम्रा माननीय नेताज्युहरुलाई जनता चाहिन्छ । तर अरु बेला सत्ता स्वार्थमा लिप्त भएको देखिन्छ । सोझासाझा जनताहरुलाई नेताले न कुनै झुप्रो बनाइ दिनुपर्छ । न त कुनै जमिन दिलाइदिनु पर्छ । मात्रै पर्छ त उनीहरुका सामूहिक समस्या जुन वर्षौं वर्षौँदेखी अलपत्र छन् । जस्तै, पुल नभएको ठाउँमा पुल, सडक नभएको ठाउँमा सडक, खानेपानी नभएको ठाउँमा खानेपानी, बिजुली नभएको ठाउँमा बिजुली, विद्यालय नभएको ठाउँमा विद्यालय, संचार नभएको ठाउँमा संचार, स्वास्थ्य नभएको ठाउँमा स्वास्थ्य । आखिर हामी सोझासाझा जनताले जिताएर पठाएका प्रतिनिधिहरु छन्, संसदहरु छन । सरकार र जनप्रतिनिधि कुन बेला भनेर गौरव गर्ने ठाउँ कहाँ रहँदो रहेछ र । जुनअसार २८ को राजनैतिक घटनाको परिदृश्यले छर्लङ्ग पारिदिएको छ ।

त्रिशुलीमा (२०८१/०३/२८) गते बेलुका यात्रुबाहक दुईवटा बसहरु खसे । पौडिएर बाँच्न सफलहरु भन्दा अहिलेसम्म कसैको अत्तोपत्तो छैन । यति ठूलो पीडादायी घटना हुँदासम्म उक्त घटनाले न त संसद्लाई नै छोयो, न त सरकारलाई नै छोयो । संसद् सुचारू भयो । एक घरका चार–चारजना हराएको अवस्था छ । कति आमाहरुको काख रित्तो भएको छ । कति चेलिहरुको सिन्दुर पुछिएको छ । कति सन्तान आफ्ना अभिभावक गुमाएर शोकमग्न छन् । आफ्ना गुमाउँदाको पीडामा प्रताडित छन् ।

अन्तमाः मध्यबर्खाको समय छ । यात्रा गर्दा विशेष सावधानी अपनाऔँ । अत्यावश्यक भन्दा यात्रा नगरौं । यात्रा गर्नु नै परे रातमा हैन दिनमा यात्रा गरौं । त्रिशुली नदीमा डुबेर हराएकाहरु र उहाँहरुको आफन्तजनप्रती दुःख व्यक्त गर्दछु । हराएका मानिसहरुको खोजी कार्यले तीव्रता पाओस् । आशा गरौं पशुपतिनाथको कृपाले उहाँहरु भेटिनुहोस् । सरकारले बस्ती विकास नीति लिनुपर्छ । सरकारले भू–उपयोग नीति लिनुपर्छ । सरकारले बाढी र पहिरोबाट मुलुकले अपुरणिय क्षती व्यहोर्नु पूर्व जोखिमपूर्ण क्षेत्र घोषणा गर्नुपर्दछ । संयमित बनौं र बनाऔँ । सबैको जय हो । धन्यवाद !