११ असार २०८३, बिहिबार

एमालेलाई राज्य संयन्त्र सञ्चालनको अवस्थामा पुर्‍याउनुपर्छ : केपी शर्मा ओली

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको दैनिक जीवनमा परिवर्तन ल्याउने आर्थिक क्रियाकलापमा ध्यान दिनुपर्ने बताउनुभएको छ ।

अध्यक्ष ओलीले पार्टीको केन्द्रीय स्कुल विभागको १८औं बैठकलाई सम्बोधन गर्दै पार्टीको स्कुल विभागले कार्यकर्तामा प्रशिक्षण चलाउँदा यसतर्फ पनि ध्यान दिनुपर्ने बताउनुभएको हो ।

अध्यक्ष ओलीले अब समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने गन्तव्यमा अगाडि बढ्ने कुरामा जोड दिनुपर्ने बताउनु भयो । त्यसका लागि पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्नुपर्छ र राज्य संयन्त्र सञ्चालनको अवस्थामा पुग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

बैठकमा अध्यक्ष ओलीले पार्टी स्कुल विभागले तयार गरेको आधारभूत तहको पाठ्यक्रममा आधारित पाठ्यपुस्तक ‘समृद्धि सोपान’ को विमोचन पनि गर्नुभयो । बैठकमा पार्टीका उपमहासचिव तथा केन्द्रीय स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले विभाग गठन भएयताका सवा दुई बर्षमा स्कुल विभागले गरेका कामको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

उपमहासचिव ज्ञवालीले यस अवधिमा सातै प्रदेशमा अगुवा कार्यकर्ता प्रशिक्षण, जनप्रतिनिधिहरूलाई अनुशिक्षण, प्रशिक्षक तयार गर्न राष्ट्रिय कार्यशाला, पार्टीमा नवप्रवेशीहरूका लागि प्रशिक्षण, १४ जनसंगठनका लागि प्रशिक्षक तयार गर्ने गरी प्रशिक्षण सम्पन्न गरिएको जानकारी गराउनुभयो । उहाँले प्रशिक्षणबाट क्षमता विकासमा उल्लेख्य योगदान पुगेको प्रशिक्षणमा सहभागीहरूको प्रतिक्रिया रहेको बताउनुभयो ।